‘असफल व्यक्ति’लाई गौरवको आयोजनाको जिम्मा

खड्कालाई रिप्लेस गर्ने संयन्त्र आवश्यक छ

दोलखाको भीमेश्वर नगरपालिका ८ बोचमा करोडौँ लगानी गरिएको गाई फार्म पाँच वर्षदेखि अलपत्र छ । दक्षिण एसियाकै ठुलो भनिएको गाइफार्ममा सरकारी लगानी ८ करोड रुपैयाँ थियो । दैनिक डेढलाख लिटर दुध उत्पादन गर्ने लक्ष्य राखिएको फार्म अलपत्र छ । यो फार्मका सञ्चालक थिए तत्कालीन नेपाल डेरी उद्योेग संघका अध्यक्ष रामकुमार खड्का । 

तीनै रामकुमार खड्का, अहिले उस्तै प्रोजेक्टमा गण्डकी प्रदेशमा चर्चित छन् ।  चर्चित, यसर्थमा कि गण्डकी प्रदेशले गौरवको आयोजनाको रुपमा अगाडि बढाएको गण्डकी काउ फार्ममा उनी सञ्चालक छन्, र प्रोजेक्ट अगाडि बढाउन अपरिहार्य पनि, विवादित पनि ।  “गण्डकी काउ फार्म” को विषय अहिले सार्वजनिक लेखा समितिले उपसमिति नै बनाएर अध्ययन गरिरहेको छ । 

जसको प्रारम्भिक प्रतिवेदन आइतबार सार्वजनिक भएको छ ।

पोखरामा डेरीदेखि काउ फार्मसम्म

रामकुमार खड्का पोखरामा १५–१६ वर्ष बसेर विभिन्न व्यवसाय गरेका व्यक्ति हुन् । आइतबार प्रारम्भिक प्रतिवेदन प्रस्तुतपछि सार्वजनिक लेखा समितिले गठन गरेको अध्ययन उपसमितिका सदस्य विन्दुकुमार थापाले भने, “मैले उहाँलाई चिन्छु । उहाँ पोखरा पनि बस्नुभएको मान्छे हो ।” 

खड्का त्यतिबेला पोखराको सिर्जनाचोकमा रामलक्ष्मण डेरी सञ्चालन गर्थे । सांसद थापा भन्छन्, “हरेक काममा उहाँ असफल व्यक्तिको रुपमा परिचित । जग्गा खरिद पनि गर्नुभएको थियो तर पछि पास गर्न नसकेपछि फिर्ता गर्नुभयो । उहाँको डेरी पनि असफल भएपछि अहिले घरबेटीले नै नाम फेरेर सञ्चालन गर्नुभएको छ ।” 

पछिल्लो समय गण्डकी काउ फार्ममा उनी जोडिएर विभागीय भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जग्गा खरिद गर्न भनेर ११ करोड रुपैयाँ निकासा दिन अर्थ मन्त्रालयसँग अनुमति माग्दा अर्थ मन्त्रालयले औचित्य पुष्टि नहुने भन्दै रोक्का गरेपछि यो विषय सतहमा आएको हो । अर्थले सहमति नदिएपछि गतवर्ष उक्त बजेट फ्रिज भयो । यद्यपी बजेटको निरन्तरता भने अहिले पनि छ । अर्थले नै सहमति नजनाएपछि सार्वजनिक लेखा समितिले यो विषयमा चासो दिएको थियो । 

प्रकाशित मिति: : 2020-10-04 22:10:33

प्रतिकृया दिनुहोस्