सातै प्रदेशमा भण्डारण क्षमता बढाउँदै निगम, गण्डकीको पोखरामा प्रक्रिया सुरू

नेपाल आयल निगमले सातै प्रदेशमा भण्डारण क्षमता विस्तार गर्ने प्रक्रियास्वरूप गण्डकी प्रदेशको पोखरामा पाँच हजार किलोलिटर (केएल) पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन लागेको छ । त्यसका लागि गगनगौँडास्थित निगमको प्रादेशिक डिपोमा दुईवटा ठाडा ट्याङ्की निर्माणको प्रक्रिया अघि बढाइएको छ । टेन्डर मूल्याङ्कन गरी स्वीकृतिको अन्तिम तयारीमा रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।
निगमले नयाँ ट्याङ्कीमा डिजेल भण्डारण गर्नेछ । हाल भइरहेका तीनवटा डिजेल भण्डारणका ट्याङ्कीलाई पेट्रोल भण्डारणमा परिणत गर्ने भएको छ । गण्डकी प्रदेशमा हाल दुई हजार २८० केएल डिजेल र ३५० केएल पेट्रोल भण्डारण हुने गरेको छ ।
बजारको आवश्यकता र हरेक प्रदेशमा भण्डारण क्षमता वृद्धि गर्दै जाने सरकारको नीतिअनुसार गण्डकी प्रदेशमा भण्डारण क्षमता विस्तारको काम सुरु भएको उपाध्यायको भनाइ छ । दुई वर्षमा निर्माण सम्पन्न हुनेछ । निगमको जग्गामा निर्माण हुन लागेको सो भण्डारण निर्माणमा निगमले ७७ करोड रुपियाँ
(भ्याटबाहेक) लगानी गर्ने भएको छ ।

सातै प्रदेशमा विस्तार हुने
सातै प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता विस्तार गरी नेपाललाई कम्तीमा ९० दिनसम्म पुग्ने भण्डारण बढाउने योजनाअनुसार काम अघि बढिरहेको निगमले जनाएको छ । चालू आर्थिक वर्ष २०७७÷७८ मा अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तारको काम सुरु गरी भण्डारण क्षमता निर्माणको काम अघि बढाइने भएको छ ।
पेट्रोलियम भण्डारण तथा पाइपलाइनको योजना आर्थिक वर्ष २०७७÷७८ को वार्षिक नीति तथा कार्यक्रममा उल्लेख छ । सोहीअनुसार निगमले काम अघि बढाएको हो । अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइनको सम्भाव्यता अध्ययन सकिएर पहिलो चरणको काम भइरहेको निगमले जनाएको छ । डीपीआर तयारीको काम भइरहेको छ । लोथरमा एक लाख केएल पट्रोलियम पदार्थ भण्डारण क्षमताको निर्माण गरिँदै छ ।

प्रकाशित मिति: : 2020-10-05 08:07:11

प्रतिकृया दिनुहोस्