सबै तनाव मानसिक रोग होइनन् : स्वामी आनन्द विनोद

‘डिप्रेसन’ भनेको उदासिन हुनुमात्रै होइन। त्योभन्दा जटिल अवस्था हो। डिप्रेसनले मानिसमा उदासिनता पैदा गरिदिन्छ। र, मानिसलाई आफ्नै जीवन फिक्का तथा बोझिलो लाग्न सक्छ। डिप्रेसन भए मानसिक रोग विशेषज्ञको सम्पर्कमा पुग्नु जरुरी हुन्छ। उनीहरूले मनोवैज्ञानिक ढंगले मानसिक रोगीहरूको उपचार गर्छन्। खासमा डिप्रेसन के हो त? यसको भ्रम र यथार्थताको वरिपरि रहेर प्राकृतिक चिकित्सक एवं योगाचार्य, ध्यानाचार्य मनोविद प्राध्यापक स्वामी आनन्द विनोदसँग आयोमेलका लागि यज्ञराज जोशीले गरेको कुराकानी :

मानसिक समस्या भनेको के हो?

तनावलाई हामी दुई भागमा बाँड्न सक्छौं। अहिले जेलाई पनि मान्छेले तनाव भन्ने गरेका छन्। सबै कुरा तनाव हुँदैन। कतिपय कुराहरू आउँछन् र जान्छन्। नकारात्मक स्थिति आउँछन् र जान्छन्। त्यो स्वाभाविक पनि हो। अहिले कोरोनाको स्थिति छ। यो अवस्था सामान्य हुने बित्तिकै अहिलेको तनाव आफैं हराएर जान सक्छ।

तर, यो अवस्था लामो समयसम्म गयो भने यसको इम्प्याक्ट सबकन्सस माइन्डमा प्रवेश नगर्ला भन्न सकिँदैन। यसको प्रभाव अचेतन, अर्धचेतन मनभित्र पस्यो भने डिप्रेसन बन्न सक्छ। त्यसैले साइकोलोजीको भाषामा सबै तनाव डिप्रेसन होइनन्।

इस्ट्रेस्टलाई न्युरोसिस भन्छन्। सबै न्युरोसिसहरू साइकोसिस होइनन्। साइकोसिस भनेको डिप्रेसन हो। अहिले अलिकति मन खिन्न हुनेबित्तिकै वा अलिकति उदासिनता आउनेबित्तिकै मलाई डिप्रेसन भयो भनेर मानिसहरू डाक्टरकहाँ पुग्ने गरेका हुन्छन्। त्यो गलत हो। तनाव हुँदा कस्तो खाले तनाव हो भनेर आफंैले महसुस गर्नुपर्छ। तनावलाई स्वीकार पनि गर्नुपर्छ। अस्वीकार गर्दा फेरि त्यो दिमागमा पस्छ।

कसरी हुन्छ मानसिक समस्या?

तनावका अनेक कारण हुनसक्छन्। अहिलको अवस्थाकै कुरा गर्ने हो भने पनि कोरोनाका कारणले घरभित्रै बस्नुपर्ने स्थिति छ। जसले गर्दा मानिस अनेकन कुरा सोच्न बाध्य छन्। र, तनाव पैदा भइरहेको छ। बाहिर निस्किँदा पनि उसले मास्क लगाएको छैन। कतै मलाई छुन्छ कि जस्ता अनेकन तनाव छन् मानिसमा।

अन्य बेलामा कामको बोझ धेरै भयो भने तनाव हुने हो। ज्यानमाथि खतरा भयो भने खतरा हुने हो। दीर्घकालिन शारीरिक समस्या भयो भने तनाव हुने हो। अति महत्वाकांक्षाले पनि तनाव हुन सक्छ। वरपरको वातावरण पोलुटेड छ भने त्यसले पनि तनाव पैदा गर्छ। अहिले भोजन आदिइत्यादिमा अत्यधिक मात्रामा रसायनको प्रयोग भइरहेको छ। यसले पनि तनाव हुन्छ।

प्रकाशित मिति: : 2020-10-06 08:19:48

प्रतिकृया दिनुहोस्