ऋण खोजेर किनेको स्कूटी चोरको चङ्गुलमा, फिर्ता पाउँदा भक्कानिए रामानन्द

गगन अर्याल

काठमाडाैं

काठमाडौंको बौद्धमा तरकारी व्यापार गर्दै आएका धनुषाका रामानन्द शाहले दुख गरेर किनेको स्कूटी १० दिनमै पशुपतिको वनकालीबाट हरायो ।

बिहान तरकारी किन्न बौद्धबाट कालिमाटी जान साइकलबाट धेरै समय लाग्ने भएपछि ५ महिना अघि उनले नजिकैको फाइनान्समा ४० हजार ऋण लिएर सेकेण्ड ह्याण्ड प्लेजर स्कूटी किनेका थिए । 

लकडाउनमा सार्वजनिक सवारी साधनहरु चलेनन् तर उनको स्कूटीले भने कालिमाटीबाट तरकारी ओसार्ने काम गरेको थियो । स्कूटी आएपछि उनको व्यापार धेरथोर चलिरहेको थियो, उनी खुसी पनि थिए । तर उनको खुसी १० दिनसम्म पनि टिक्न सकेन । पशुपतिको वनकालीबाट गायब भयो ।

शनिवारको दिन तरकारी बोकेर पसलमा पुर्‍याएपछि बाहिरैबाट भए पनि पूजा गरेर फर्किन्छु भन्दै उनी पशुपति गएका थिए, १० मिनेटमा फर्किदाँ उनको स्कुटर राखेको ठाउँमा थिएन ।

आफैंलाई धिक्कार्दै उनी छिमेकीको सल्लाहमा ट्राफिक प्रहरीको कन्ट्रोल नम्बर १०३ मा फोन गरेर स्कूटी नम्बर र इन्जिन नम्बर टिपाए ।

त्यसको ५ महिना पछि आज (शुक्रवार) उनको हातमा ट्राफिक प्रहरीले उनलाई स्कूटी बुझाउँदा उनका आँखा रसाएको थियो ।

‘ट्राफिक प्रहरीले स्कूटी दिँदा मेरा आँखा रसाए । अहिलेसम्म स्कूटी किन्नलाई लिएको ऋण तिर्न सकेको छैन,’ रामानन्दले लोकान्तरसँग भने, ‘अर्को साधन पनि किन्न सकेको थिइनँ ।’

प्रकाशित मिति: : 2020-10-09 17:33:18

प्रतिकृया दिनुहोस्