संकटका बीच खुसी साट्न आयो दसैं

कोरोनाविरुद्ध लड्न आत्मबल बढाउने विश्वास
कोरोनाविरुद्ध लड्न आत्मबल बढाउने विश्वास

कोरोना भाइरसको महामारीका बीच नेपालीको महान् पर्व बडादसैं आज (शनिबार)बाट सुरु भएको छ । संकटका बीच पनि नेपालीहरू दसैंको आगमनसँगै खुसी साट्ने योजनामा जुटेका छन् । सुरक्षाका विधि तथा मापदण्ड अपनाएर दसंै मनाउन सरकारले सम्पूर्ण नेपालीलाई आग्रह गर्दै आइरहेको छ ।

धर्मशास्त्रीले सुरक्षा विधि अपनाएर खुसी साट्दै चाडपर्व मनाउने तथा खुसी र उमंगसँगै मनोबल बढाउन सकिएमा कोरोनाविरुद्धको लडाइँमा सहजता आउन सक्ने बताएका छन् । यसपालिको दसैंमा कोभिड–१९ विरुद्ध लड्न सक्ने आत्मबल पैदा होस् भन्ने कामनासहित पूजाआजा गर्नुपर्ने धर्मशास्त्रविद् प्राडा. रामचन्द्र गौतमले बताए ।

कोरोनाविरुद्ध लड्न आत्मबल बढाउने विश्वास

शुद्ध आश्विन दुर्गा शुक्ल पक्ष प्रतिपदाका दिन बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेसँगै दसैं सुरु हुनेछ । दसैंमा हुने जमघट र भेटघाटलाई प्राथमिकता नदिए पनि घरघरमा दुर्गा भवानीको पूजाआजा गर्न भने कुनै समस्या नभएको संस्कृतिविद्देखि जनस्वास्थ्यविद्सम्मले सुझाव दिएका छन् ।

धर्मशास्त्रविद् गौतमले राजधानीसँग भने, ‘पूर्ण रूपमा सुरक्षा विधि अपनाएर परस्परमा खुसी साटासाट गरेर चाड मनाउँदा आत्मबल पनि बढ्न सक्छ , कोरोनासँग लड्ने सबैभन्दा ठूलो औषधि नै आत्मबल हो ।’

नेपाल पञ्चांग निर्णायक समितिले घटस्थापनाका लागि शनिबार बिहान ११ बजेर ४६ मिनेटमा शुभसाइत तोकेको छ । ‘साइत खोज्नेले बिहान ११ बजेर ४६ मिनेटको समयमा जमरा राखेर घटस्थापना गर्नु राम्रो हुन्छ,’ समितिका अध्यक्ष समेत रहेका प्राडा. गौतमले भने ।

उनका अनुसार घटस्थापना गरिएको कलशको मुखमा नवदुर्गालाई आह्वान गरी नौ रात १० दिनसम्म विधिपूर्वक पूजा आराधना एवं दुर्गा सप्तशती चण्डी, देवीभागवत, देवी स्तोत्रलगायत देवीको महिमागान गाइएका श्लोक वाचन एवं पाठ गरिन्छ ।

देशभरका शक्तिपीठमा दर्शन गर्न मिल्ने या नमिल्ने अन्योल नै छ । यद्यपि, कुनै कुनै मन्दिरमा घटस्थापनाकै दिनदेखि विशेष रूपमा भक्तजनको भीड लाग्ने भए पनि संक्रमण बढ्दै गएकाले भौतिक दुरी कायम गरी दर्शन गर्नुपर्ने अवस्था छ ।

प्रकाशित मिति: : 2020-10-17 07:50:00

प्रतिकृया दिनुहोस्