दशैँ भत्ता फिर्ता गर्न नेता रावलकाे संसद् सचिवालयलाई पत्र

भीम रावल
भीम रावल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा सांसद भीमबहादुर रावलले संसद सचिवालयलाई पत्र लेखेरे आफ्नो दशैँ भत्ता फिर्ता गर्न  अनुरोध गरेका छन्।

आइतबार दिउँसो प्रेस विज्ञप्ति निकाल्दै नेता रावलले यससम्बन्धमा जानकारी दिएका हुन्। साथै उनले दशैँ भत्ता फिर्ता हुने व्यवस्था गर्न संसद सचिवालयलाई आग्रह गरेको बताए।

‘देश विषम परिस्थितिमा तथा आर्थिक कठिनाइमा रहेका बेला जनप्रतिनिधिहरु, विशेषतः सांसदहरुका लागि दशैँ भत्ताबापत रकम उपलब्ध नगराउने नीतिगत निर्णय नै हुनुपर्ने हो । निवेदन दिइरहनुपर्ने होइन ।’

साथै उनले आफ्नो खातामा जम्मा भइसकेको रकम सचिवालयलाई लिन कठिनाइ भएमा भत्ता बराबरको आफूबाट चेक लिएर वा आउँदो महिनाको पारिश्रमिकबाट त्यो रकम कट्टी गर्न सकिने पनि सुझाएका छन्।

यसैबिच नेकपाका सांसद जनार्दन शर्माले कोरोना भाइरस (कोभिड- १९)को महामारी चलिरहेको बेला सांसदहरूलाई भत्ता दिने रकम भेन्टिलेटर किन्न लागि खर्च गर्नुपर्ने बताएका छन्। उनले आफूले पाएको दसैं भत्तावापतको रकम एक बिरामीको उपचारमा खर्च गर्ने पनि जानकारी दिए।

प्रतिनिधिसभा सदस्य शर्माले ट्विटरमा लेखेका छन्, 'कोरोनाको महामारी हाम्रो मुख्य समस्या हो । यस्तो बेला दसैं भत्ता सांसदलाई दिनुभन्दा भेन्टिलेटर किनौं ।'

सांसद शर्माले आफूले पाएको दसैं भत्तावापतको रकम भेन्टिलेटरमा राखेर उपचार गर्नु परेका बिरामीलाई दिने जानकारी दिएका छन्। उनले लेखेका छन्, 'दसैं भत्तास्वरुप आएको रकम कालिकोटका पूर्व जनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु।'

यस्तै साझा पार्टीकी बागमती प्रदेश सभा सदस्य शोभा शाक्यले पनि आफूले दसैं भत्ता फिर्ता गर्ने बताएकी छन्।  ‘कोभिड १९ को महामारीका कारण देश संकटमा परिरहेको र ठूलाे संख्यामा नागरिक हातमुख जोर्न पनि नसक्ने अवस्थाबाट गुज्रिरहेका बेला जनप्रतिनिधिहरूले दशैँ भत्ता लिनु कुनै पनि दृष्टिकोणबाट उपयुक्त हुँदैन’, उनले भनिन्,‘मासिक तलब स्वत: खातामा आउने गर्दछ। बागमती प्रदेश सरकारले तलब सँगसँगै दशैँ भत्ता पनि सांसदहरूको खातामा दाखिल गरिसकेको छ। मेरो खातामा आएको सो रकम मैले फिर्ता गर्ने जानकारी गराउन चाहन्छु। दशैँ खर्च बापतको सो रकम कोभिड १९ को स्वास्थ्य कोषमा दाखिला गर्न समेत हार्दिक अनुरोध गर्दछु।’

साथै उनले सबै सांसदहरूलाई दशैँ भत्ता फिर्ता गर्न र प्रदेश सरकारलाई सबै अनावश्यक खर्च कटौती गरी कोभिड १९ नियन्त्रण र उपचारमा लगाउन पनि आग्रहसमेत गरेकी छन्।

कोरोनाकालमा पनि सांसदहरुका लागि दशैँ भत्ता छुट्ट्याइएको भन्दै चर्काे जनदबाब बढेपछि धेरै सांसदहरु भत्ता नलिने पक्षमा पुगेका छन्।

प्रकाशित मिति: : 2020-10-18 15:22:00

प्रतिकृया दिनुहोस्