मृत्युदण्ड नै समाधान होइन

अनुसन्धान फितलो भएको मुलुकमा मृत्युदण्ड अभिशाप पनि हुन सक्छ

रामनारायण बिडारी
रामनारायण बिडारी

रामनारायण बिडारी

बलात्कार शब्दले नै जनाउँछ कि मञ्जुरीबेगर यौनसम्बन्धी क्रिया कसैैले कसैमाथि गर्नु हो । यौनजन्य क्रिया पवित्रताका साथ गर्नुपर्ने संसारको रीत नै हो । यो पवित्र मार्ग पनि हो । तर, बलियाले निर्धाको मञ्जुरीबेगर गरिने यौनजन्य कार्यलाई अक्षम्य अपराध मानिन्छ । संसारमा नै अति मर्यादित तरिकाले अति पवित्रताका साथ गरिने सहवास वा समागमलाई दुष्टहरूले अपवित्र पारिदिएका छन् ।

सहवास वा समागम दुवै पक्षको हार्दिकतामा हुन्छ । त्यसमा पनि समाजले केही सर्त, बन्देज लगाएको छ । राज्यले कानुन नै बनाएको छ । यी सर्त वा मर्यादामा रही समागम हुनु नराम्रो हैन तर आपराधिक मनोवृत्ति भएका, दुष्टहरूले यस्तो पवित्र कार्यलाई अपराधमा परिणत गराइदिने गरेका छन् । बलात्कार संसारको कुनै पनि कुनामा अक्षम्य अपराधको कोटिमा पर्छ । कैयौँ देशमा त यसलाई मृत्युदण्डको सजायँ तोकिएको छ भने कैयौँ देशमा आजीवन वा जन्मकैदका रूपमा राखिएको छ ।
यस प्रसङ्गमा, सहमति भनेको के
हो ? न्याय निरूपण गर्न यसको प्रयोग बडो सतर्कतासाथ गर्नुपर्छ । नाबालक जसको शारीरिक, मानसिक तथा कानुनी आधारमा समेत यौनबारेमा अन्जान छ भने उसको सहमतिलाई पनि सहमति मानिँदैन । जस्तै ः शारीरिक, मानसिक अपाङ्गता भएको व्यक्तिको सहमतिलाई पनि सहमति मानिन्न । वृद्ध तथा रोगीको सहमतिलाई पनि सहमति मानिन्न । सामूहिक रूपमा वा धेरैजना मिलेर गरिने यौनक्रियालाई पनि सहमति थियो भन्न पाइँदैन । अर्थात् नाबालक, मानसिक तथा शारीरिक अपाङ्गता भएको व्यक्ति, उमेरका कारण यौन इच्छा नभएको व्यक्ति वा वृद्धको सहमति पनि सहमति मानिँदैन । यसैगरी, हाडनाताको कुनै पनि सहमतिलाई सहमति मानिँदैन । यसकारण बलात्कार मुद्दामा बडो होसियारीपूर्वक हेरेर बलात्कार हो, हैन यकिन गर्नुपर्ने हुन्छ । यसमा लैङ्गिक दृष्टिले मात्र हेरेरमात्र न्याय गर्न मिल्दैन । अक्षम्य रूपको बलात्कार भएको हुनाले सहमतिका बारेमा लिएको जिकिर सामान्यतः स्वीकार्य हुँदैन ।
माथि उल्लेख गरिएअनुुसार नाबालक, वृद्ध, अपाङ्ग, हाडनाताका व्यक्तिहरूमा र सामूहिक बलात्कारमा सहमतिको खास अर्थ हँुदैन । यसमा सजायँ नै हुन्छ, उन्मुक्ति हँुदैन । कैयौँ कुरा यौन दुराचारमा पर्छ । यौन दुराचार र बलात्कार छुट्याउनु न्यायकर्ताको निष्पक्षतामा भर पर्छ । यौन दुराचार बलात्कार होइन तर यो सामाजिक कलङ्क हो । सामाजिक मर्यादाविरुद्धको कुरा हो । यो संस्कृतिको विरुद्धमा हो । कहिलेकाहीँ यौन दुराचार दण्डनीय पनि हुन्छ । कहिलेकाहीँ नहुन सक्छ । सजायँ नभए पनि यो दुराचार समाजको कलङ्क हो । तसर्थ, यौनजन्य क्रियाकलाप अनिवार्य दुष्कृति पनि हो ।

प्रकाशित मिति: : 2020-10-19 07:43:00

प्रतिकृया दिनुहोस्