शरीर बन्धक र ज्यान मार्ने उद्योगका अभियुक्त ६ वर्षपछि पक्राउ

शरीर बन्धक र ज्यान मार्ने उद्योगका अभियुक्त ६ वर्षपछि पक्राउ परेका छन्। 

विशेष सूचनाको आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नयाँ बसपार्कको होटेल काठमाडौं इनमा लुकिबसेको अवस्थामा नरेश मेचेलाई पक्राउ गरेको हो।

झापाको मेचीनगर नगरपालिका १२ घर भएका नरेशले २०७१ साल माघ १८ गते बिर्तामोडका सुनिलकुमार अग्रवाललाई बजरंग पन्सारीसँग मिलेर अपहरण गरेका थिए। 

उनीहरुले अग्रवाललाई एम्बुलेन्समा राखेर झापाको धरमपुरमा रहेको हर्कबहादुर कन्दको घरमा बन्धक बनाएर राखेका थिए। 

२०७१ साल माघ २३ गते प्रहरीले धरमपुरबाट सुनिलकुमार अग्रवाललाई अपहरणमुक्त गराएको थियो। अग्रवाललाई अपहरणमुक्त बनाउने क्रममा अपहरणकारी र प्रहरीबीच गोली चल्दा एक जना प्रहरी घाइते पनि भएका थिए।

उक्त घटनापछि फरार रहेका नरेश मेचेलाई २०७३ साल असार २३ गते झापा जिल्ला अदालतले १७ वर्ष कैद र एक लाख ५० हजार जरिवाना सुनाएको थियो।

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको ब्युरोका उपनिर्देशक प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

प्रकाशित मिति: : 2020-10-19 12:59:00

प्रतिकृया दिनुहोस्