 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                अन्जान प्रदिप
 
                                'कामयाब'

भैरव अर्यालको 'आलु' निबन्ध पढ्नुभएको छ ?
तपाईंको भान्सामा सबैभन्दा धेरै के पाक्छ ? सम्भवत: - आलु। आलु एक समावेशी स्वाद हो। भान्साका हर परिकारमा आलु नहुँदो हो त स्वादको परिभाषा नै पृथक हुन्थ्यो होला सायद। न त तपाईँले आलुको रेटिङ्ग सुन्नुहुन्छ कतै - आलुको महंगी पनि विरलै भोग्नुभएको छ। यो त सदा एकनास लाग्ने मूल्य लिएर झुण्डिइरहन्छ - सब्जीमण्डीको धमिलो मूल्यसूचीमा।
यो त्यही आलुको कथा हो- जसले आजीवन आफ्नो सार्वभौम स्वाद बाँडिरह्यो। यो त्यही औसत मूल्य र स्वादको आलुको - तपाईं हाम्रो हरियो आँखाबाट ओझेल एक अन्डरग्राउन्ड संघर्षको कथा हो। यो सपनाको बोरामा गुम्सिएको/ खुम्चिएको/ कुहिएको र चाउरिएको आलुको पहिचानको बजारिया खरीदबिक्रीको कथा हो।
(आलु मिसावट र स्वादको कीर्तिमान बनाउन सुटुक्क हिँडिदिए - कस्तो होला त आलुको यात्रा ?)
लगता है 
उम्मीदोंके पांव भारी है...
उम्मीदोंसे बढकर 
किस्से अब भी जारी है...!                  
                                 - हर किस्सेके हिस्से `कामयाब´
'सिनेमा प्याराडिसो'

- 'जिन्दगी बस् एक सिनेमा हो।' 
- 'सिनेमाजस्तो कहाँ हुन्छ र जिन्दगी!' 
- 'कत्ति राम्री! फिलिमको हिरोनीजस्तै!' 
- 'यो जिन्दगी एक फिल्म भैदिए त!'
यस्तै-यस्तै संवादका टुक्राटाक्रीहरु हामीले बोल्दै / सुन्दै आएका छौँ। अत: सिनेमा तपाईं-हाम्रो जीवनमा कहीँ न कहीँ जोडिएको छ।
एक बेला थियो- जहाँ श्यामश्वेत पर्दाभित्र पनि हाम्रो रंगीन संसार थियो। एक बेला थियो - हिरो / हिरोइन / र फिल्मका पोस्टरहरु नटाँसिएका कोठा कोठाजस्ता लाग्दैनथे।
एक बेला थियो- हिरोको डायलग र एक्शनको नक्कलमा हाँत नभाँचेसम्म / नाक नफुटेसम्म पक्का फ्यान भइदैनथ्यो। एक आभाष थियो - चलिरहेको हावा / बगिरहेको नदी र परिरहेको पानीको आवाज सबै सिनेमाको पार्श्वसंगीतजस्ता लाग्थे।
सिनेमा किशोर वयको सपनाको रथ गुडाउने सारथि हो। हाम्रा दु:ख / हाँसो / रोदन/ र बदमासीको एकमात्र साक्षी हो। अहिले सिनेमाको परिभाषा र परिचय व्यापक भइसकेको छ। सिनेमामा समेटिने विषयवस्तुमा पनि घनिष्ठ गहनता एवं प्रयोगहरु आइरहेका छन्। तर यो त्यो बेलाको कथा हो - जतिबेला सिनेमा बामे सर्दै थियो / केही पाइला चाल्ने प्रयासमा थियो।
यो त्यो बेलाको कथा हो - जतिबेला युद्धको भग्नावशेषलाई सुम्सुम्याइरहेको इटाली सिनेमामार्फत् त्यही भग्नावशेषभित्र पुरिएको आफ्नो हाँसो खोतल्दै थियो / जमिबसेको आँसु पखाल्दै थियो। सिनेमाको रंगमा रंगिएको एक सुकुमार सपना टाँगिएको यो पर्दाभित्र हाम्रो नोस्टाल्जिया छ / हाम्रो हुर्काइ छ / र हाम्रो भोगाइ छ।
(सिनेमा कहीँकतै हाम्रो जिन्दगीसँग जोडिएको छ भने सिनेमाभित्रको जिन्दगी वा सिनेमाको सिनेमा किन नहेर्ने त ?)
तपाई हाम्रै जिन्दगीका केही हिस्सा र केही किस्साहरु हामीलाई पर्खिरहेछन्। जसलाई भेट्न - `सिनेमा प्याराडिसो´ [Cinema Paradiso] पुग्नैपर्ने हुन्छ। र प्रोजेक्सन रुमको प्वालबाट तपाईंलाई चियाइरहेका 'अल्फ्रेडो' का जोर आँखा तपाईंका सदियौंदेखिका आफन्तजस्ता लाग्नेछन्।
'भोसले'

एउटा शहर छ। शहर भने पछि त्यहाँको विकृत मनोविज्ञान, थोते गौरव र मुसाजस्तो लघुताभास, भग्न इतिहासको कालखण्डमा बाँचिरहेका जस्ता लाग्ने साँघुरा र अँध्यारा गल्लीहरु एवं प्रदूषित राजनीती र अर्थहीन नारा पोतिएका भित्ताहरु सँग-सँगै आउँछन्।
यो कथा शहरको तामझाम आधुनिकतातिर छिर्दैन, बरु कहिले तिनै अँध्यारा गल्लीहरुका साँघुरा कोठाहरुको झ्यालमा अन्धकारको प्रतीकजस्तै कालो काग बनेर बस्छ। कहिले श्रमिकका पटपटिएका पैतालाजस्तै क्षतविक्षत भूइँमा मुसा बनेर दौडिन्छ। कहिले ओठबाट फ्याकिएको विरक्तिको थुकजस्तै बनेर तिनै ओठजस्तै कलेँटी परेका भग्नावशेष घरहरुको छानोबाट चुहिन्छ। र भित्ताभरि लेउ बनेर टाँसिएर बस्छ। यहाँ कथाले गाथाहरुलाई परास्त गर्दै मक्किएका बिम्बहरुमाझ कठोर कविताको जीवन बाँच्छ।
झट्ट हेर्दा लाग्छ- यो हाम्रै देशमा पनि भोगिदै आएको भौगोलिकतामाथिको विभेदकारी राजनीतिको ऐना हो। एकनासको जीवनस्तरभित्र पनि भाषा र भूगोलको राजनीतिले ल्याउने विचलन यस कथाको मर्म हो।
कलिला वर्तमानहरुलाई समयचेतको सट्टामा विभेदको नारा घोकाएपछि भविष्यमा उनीहरुले कोर्ने ईतिहास कस्तो होला त ? यो यस कथाको मुख्य प्रश्न हो।
एकतन्त्रीयताको ट्याटु खोपाएको इतिहासको मुखमा दलिएको घृणाको मोसोको कालो धब्बा कतिसम्म गाढा हुन्छ ? के यो धोएर/पुछेर/पखालेर मेटिने दाग हो ? इतिहासको मुखसँगै कालो भएको मोसो दल्ने हातको कलङ्क झूठको साबुनद्वारा पखालिएर जान्छ या जाँदैन ? विभेदका असंख्य नाराहरु पोतिएको इतिहासको भित्तोमा समानताको सुनौलो रंग पोत्न सम्भव छ या छैन ? हार्दिकताको खडेरीले तिर्खाएको जमिनले रगत सोस्छ या सोस्दैन?
यी सबै प्रश्नको उत्तर कि त दुई दिने देवत्वले सुसज्जित हुँदै अन्त्यमा टुक्रिएर उपेक्षित गंगामा विसर्जित गणपतिसँग छ, कि त छ दशक बिताएर पनि आफ्नै शहरमा बिरानिएको रिटायर्ड अफिसर `गणपत भोसले´सँग मात्र छ।
'ब्राइट स्टार'

कवितामा प्रेम लेखिन्छ 
या 
प्रेम नै एक कविता हो ? 
सम्झनाको बर्फिलो जङ्गलमा बिछ्याइएको चिसो हृदयमाथी समयका पदचापहरुद्वारा लेखिएका अक्षरहरु के कविता बन्ने सामर्थ्य राख्छन् ? मनको गुम्सिएको कोठाभित्र कैद रहरका पुतलीहरुको आयुमा कविताको लय छ / छैन ? शिशिरको सिरेटोमा बतासिँदै बसन्तको आँगनमा आइपुगेको सुकेको पातमा कविताका कति हरफहरु अटाउन सक्लान् ? स्मृतिको धागोले अतीतका कपडामा बुनिएका बुट्टाहरुमा कविताको बिम्ब बन्ने सामर्थ्य छ या छैन ? आजीवन लुकाइएका प्रेमपत्रहरुमा सम्झनाको सुवास र ओठहरुका स्पर्श उस्तै रहलान् या उडेर सकिएलान् ?
भनिन्छ- कवि आफू मरेर गए पनि आफ्ना अक्षरहरुमा बाँच्छ। तर अक्षरहरुमा अमर भैरहन सक्ने लेखक किन असफलताको पासोमा झुण्डिएरै आफ्नो आयु सकाउँछ ? के ती अक्षरहरुले उसले आजीवन फेरिरहेको असन्तुष्टिको सास र उसले निलिरहेको अभावको धुवाँलाई साँच्चिकै सम्बोधन गर्छन् ? या हामी महानताको खोल ओढाइदिएर हामी नै महान बन्ने प्रयत्न गरिरहेछौँ ? अमरत्व प्राप्त गर्न सक्ने लेखकले समयानुकूल चेत पाउन सकेन भन्नु फगत् हाम्रो बिडम्बना हो।
यीनै प्रश्नहरुलाई साक्षी राख्दै कविताकै चिनारीले चिनिएको एक कवि ( जोन किट्स ) को अकवितात्मक जिन्दगीका असफलता / अत्यास / र अबोधताहरुलाई यहाँ कवितात्मक शैलीमा प्रस्तुत गरिएको छ। कविका चिटिक्क मिलाइएका अक्षर र कविताहरुभन्दा उसको विश्रृङ्खल जिन्दगीलाई पढ्नु / बुझ्नु बास्तबमा एक कविप्रतिको न्याय हुन सक्ला।
'नेरुदा'

मेरो देशका 
हजारौं मान्छेहरु जेलमा छन्। 
यातनाको 
अन्तहीन आयु बाँचिरहेका 
तिनीहरुमध्येकै म एक हुँ। 
किनकि - 
म तिनीहरुसँगैको / तिनीहरुको जेलर हुँ।
हामी कुनै दूरदर्शी लेखकद्वारा वर्षौँअघि लेखिएको आख्यानभित्र आ-आफ्नो नायकीय अस्तित्वदावीको दौडमा छौँ। तर हामी नायकको वरिपरि घुमिरहने सहायक पात्र मात्र रहिरहन्छौँ। लेखकको सपनाको आँखीझ्यालबाट हामी भूत बनेर टुलुटुलु हेरिरहन्छौँ- आफ्नै निर्देशित वर्तमान।
लेखकको ओभरकोटको ढाडमा लेखिएको हाम्रो नियतिले लेखकको अनुहार ठम्याउन सक्दैसक्दैन। हामीभित्र हामी बाँचिरहेछौँ या लेखकको डरलाग्दो सपना ? कथाको अन्त्यपछिको हामीले लेख्ने कथा कागजमा लेखिएला कि रगतमा ?
यीनै पात्रहरुका विरोधाभासहरु पुरिएको हिउँमाथि नायकको दिग्विजयी यात्रा सुरु हुन्छ। र यही यात्राको अन्त्यको फेरमा कतै हाम्रो अनादि अस्तित्वको गाँठो बाँधिएको छ। के त्यो गाँठो फुकाएपछि हाम्रै नायकीय अस्तित्वको कथा सुरु हुनेछ ? लेखकको सपनाले के हाम्रो आवाजलाई सुनेर हामी सबैलाई नायक करार गर्ला त ?
जे होस्- लेखकले यसपाली आफ्नो कथाको अन्त्यलाई साक्षात्कार गर्नैपर्छ। उसका अक्षर र कविताहरुमा हाम्रो चीरनिद्राको सम्बोधन हुनैपर्छ। यो मसीबिरुद्ध रगतका अक्षरहरुको युद्धको उद्घोष हो- यो आवाज लेखकले सुन्नैपर्छ।
कवितामा जति प्रेमको पर्याय बन्ने शक्ति हुन्छ उति नै क्रान्तिको। यसरी हेर्दा एक क्रान्तिकारी कवि हुन जान्छ त एक कवि क्रान्तिकारी। यो त्यही विश्वविख्यात चिलियन क्रान्तिकारी कवि पाब्लो नेरुदाको जीवनको एक कडीको कथा हो- जतिबेला उनीलाई राज्यले गद्दार करार गरेपछि उनी एक लामो गुप्तवासमा थिए। उनलाई पछ्याइरहेको प्रशासन र उनको अविराम यात्राबिच माथि उल्लेख गरिएकाजस्ता थुप्रै पात्रहरुका विरोधाभासहरु जोडिन्छन्। जुन विरोधाभासहरुभित्र कतै हामी नेरुदा बनेर भेटिन्छौँ त कतै नेरुदा हामी बनेर पुलिसको साइरनजस्ता हाम्रा विचारका गल्लीहरुमा हिँडिरहन्छन्। उनका कविताहरुमा हाम्रो उपस्थितिको आभास पाउन एकफेर हामी नेरुदासँगैको गुप्तवासमा बस्नैपर्ने हुन्छ।
[I can write the saddest poem of all tonight.
To think I don't have her. 
To feel that I've lost her.
To hear the immense night, 
more immense without her.
And 
the poem falls to the soul as dew to grass...]
                                           - Pablo Neruda
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया