कप्तान लामा भन्छन्, ‘प्रतियाेगिताकाे दाेस्राे चरणमा पुग्ने लक्ष्य छ।’

एन्फाद्वारा एएफसी फुटसल एसियन कप छनाेट खेल्न मंगाेलिया जाने टाेलीलाई बिदाइ

मंगाेलियमा हुने एएफसी फुटसल एसियन कप छनाेट- २०२४ खेल्न जाने नेपाली टाेलीलाई बिदाइ गरिएकाे छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार टाेलीलाई बिदाइ गरेकाे हाे।

प्रतियाेगिता यही असाेज ७ देखि २४ गतेसम्म हुँदैछ।

त्यसकाे लागि एन्फाले खुला रुपमा खेलाडी छनाेट गरेकाे थियाे। एन्फाले सातै प्रदेशका ४८ वटा जिल्लास्तरीय ‘ए’, ‘बि’ र ‘सी’ डिभिजन क्लबका टाेलीबाट खेलाडी छनाेट गरेकाे हाे।

एन्फाले राष्ट्रिय टाेली तयार गर्नकाे लागि पहिलाे चरणमा ७४ जना खेलाडी छनाेट गरेकाे थियाे। त्यसपछि विभिन्न चरणमा छनाेट गर्दै अन्तिममा मणिकुमार लामाकाे कप्तानीमा १४ सदस्सीय टाेली घाेषणा गरेकाे थियाे।

गत भदौमा काठमाडौँको चन्द्रागिरीमा फुटसल टोलीको छनोट भएको थियो। छनोट भएर आएका उत्कृष्ट खेलाडी समावेश गरेर टाेली तयार गरेकाे हाे। उनीहरुलाई पाेखरामा २० दिन प्रशिक्षण दिइएकाे थियाे। उक्त अवधिकाे प्रशिक्षण अत्यन्त राम्राे भएकाे प्रशिक्षक गाैरव बस्नेतले बताए।

‘पहिलाकाे भन्दा यसपटककाे ट्रेनिङ छाेटाे भयाे तर समय छाेटाे भए पनि ट्रेनिङ राम्राे भयाे। पहिला सानाे मैदानमा ट्रेनिङ गर्दथ्याे यसपटक ठुलाेमा गर्न पाइयाे धेरै राम्रे भयाे,’ बस्नेतले भने।

प्रतियाेगिताकाे लागि एसियाका ३१ टाेलीलाई ८ समूहमा विभाजन गरिएकाे छ। जसबाट समूहकाे शीर्षस्थामा रहने टाेली एएफसी फुटसल एसियन कप- २०२४ का लागि सिधैं छनोट हुने छन्।

प्रतियाेगिताकाे लागि समूह ‘डी’मा रहेको नेपाल समूह चरणमा आयोजक मंगोलिया, भियतनाम र दक्षिण कोरियासँग प्रतिस्पर्धा गर्नेछ।

तुलनात्मक रुपमा अन्य टाेलीभन्दा कमजाेर रहेकाे नेपालले दरिलाे आत्मविश्वासका साथ उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेकाे छ। भियतनाम विश्वकप खेलिसकेकाे राष्ट्र हाे भने काेरिया नेपालभन्दा माथिल्लाे टाेली हाे। ‘हाम्रो विपक्ष टोली जस्तो भएपनि हामी हाम्रो खेल बेस्ट दिन्छौँ, विपक्ष टोली हाम्रो लागि ठुलो होइन,’ प्रशिक्षक बस्नेतले भने।

त्यस्तै पहिलाेपटक कप्तानकाे भूमिकामा रहेका लामाले तयारीकाे लागि समय छाेटाे भए पनि उत्कृष्ट भएकाे बताए। उनले भने, ‘पहिलोपटक कप्तानको भूमिमा निर्वाह गर्दैछु, जिम्मेवारी अझ बढी थपिएकाे जस्तो लागि रहेको छ। तयारी गर्न समय निकै छोटो थियो तर एकदमै राम्रो ट्रेनिङ भयाे।’

सन २०१७ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेकाे नेपालले दुई पटक छनाेट खेल खेलेकाे छ। नेपालल अहिलेसम्म छनाेट चरणबाट दाेस्राे चरणमा पुग्न सकेकाे छैन।

स्वदेशमा लिग नहुँदा समस्या

नेपालमा फुटसलसम्बन्धी घरेलु लिगहरु नुहँदा खेलाडीहरु प्रभावित भएका छन्। एन्फाले फुटसललाई प्राथमिकतामा नराख्दा खेलाडीहरु ओझेलमा परेका छन्। जसकारण नेपाली तुलनात्मक रुपमा अन्य टाेलीभन्दा कमजाेर सावित हुँदै आएकाे छ।

फुटसलमा खेलाडीहरुलाई दीर्घकालीन रुपमा टिकाउन नसक्नु नै मुख्य समस्या रहेकाे छ। फलत: नेपालले अहिलसम्म सम्झन लायक प्रदर्शन गर्न सकेकाे छैन।

यद्यपि, आफूहरुले उत्कृष्ट प्रदर्शन गर्ने दाबी कप्तान लामा गर्छन्। ‘पहिला हेरिकन हाम्रो अहिलेको विपक्षी टोलीहरु हामी भन्दा अलि माथिमात्र छ। हाम्रो लागि बलियो टोली अहिले भियतनाम नै रहेको छ। तर, हामी भियतानमविरुद्ध पनि राम्रो प्रदर्शन गर्नेछौँ,’ उनले भने। ७ वर्षअघि दाेस्राे चरणसम्म पनि पुग्न नसकाे टाेली यसपटक दाेस्राे चरणमा पुग्नु नै नेपालकाे लक्ष्य भएकाे उनकाे भनाइ छ।

यसपटक जितकाे मुख्य आधार नै राम्राे प्रशिक्षण भएकाे उनकाे भनाइ छ। ‘छाेटाे अवधिमा पनि राम्राे प्रशिक्षण भयाे, डराउनुपर्ने कुरा केही छैन,’ कप्तान लामाले भने।

प्रकाशित मिति: : 2023-10-04 17:30:00

प्रतिकृया दिनुहोस्