भारत-चीन सीमा विवाद: भारतीय विदेशमन्त्री एस जयशङ्कर भन्छन्, 'भारत-चीन सीमामा शान्ति र स्थिरता नराम्ररी बिथोलिएको छ'

भारतका विदेशमन्त्री एस जयशङ्करले भारत-चीन सीमास्थित वास्तविक नियन्त्रण रेखामा शान्ति र स्थिरता 'नराम्ररी बिथोलिएको' तथा त्यसबाट दुई देशबीच सम्बन्धमा असर पुगेको बताएका छन्।

लद्दाखको सीमामा भारत र चीनबीच पाँच महिनादेखि तनाव जारी रहेको बेला जयशङ्करले सीमाको अवस्थाबारे त्यस्तो टिप्पणी गरेका हुन्।

अहिले भारत र चीन दुवै देशले विवादास्पद हिमाली सीमाक्षेत्रमा ५०,००० भन्दा बढी सैनिक खटाएका छन्।

जयशङ्करले शनिवार आफ्नो पुस्तक 'द इन्डिया वे - स्ट्र्याटजीज फोर एन अन्सर्टेन वर्ल्ड' बारे छलफल गर्न आयोजित बेविनारमा भारत-चीन सम्बन्धबारे महत्त्वपूर्ण कुराहरू भने।

दुई देशको सम्बन्धमा सुरुदेखि नै धेरै समस्या रहेको तर सन् १९८० पछि व्यापार, यात्रा, पर्यटन र विभिन्न सामाजिक गतिविधिका कारण केही सामान्य भएको उनले बताए।

"हामी सीमा विवाद समाधान हुनुपर्छ भनिराखेका छैनौँ। हामीलाई यो धेरै गाह्रो र जटिल विषय हो भन्ने थाहा छ। यस विषयमा विभिन्न तहमा वार्ताको प्रयास भएको छ।... दुई देशबीचको सम्बन्धका लागि यो निकै कठिन कुरा हो," उनले भने।

प्रकाशित मिति: : 2020-10-19 17:09:00

प्रतिकृया दिनुहोस्