पुनर्गठन हल्ला : 'मुडअफ' सिंहदरबार

विष्णु सुवेदी

अघिल्लो साता सिंहदरबारमा भेटिएका एकजना मन्त्रीले चियागफमा भनेका थिए, 'पुनर्गठनको बाह्रमासे हल्लाले काम गर्ने मुड नै भएन। हरेक दिन मिडियामा त्यही आउँछ। अनि यता कर्मचारीको पारा अर्कै हुँदोरहेछ।'

एकजना मन्त्रीको मात्रै गुनासो होइन यो, पुनर्गठनको आस र त्रासमा गुम्सिएको सिंगो सिंहदरबारको मनोदशा हो। सरकार पुनर्गठनको निरन्तरको हल्लाबीच असोज २८ गते प्रधानमन्‍त्री केपी ओलीले मन्त्रिमण्डलमा सामान्य हेरफेर गर्दै तीनजना नयाँ मन्त्री थपे। यसले न सरकारको गतिमा कुनै बद्लाब आउनेवाला छ न त पार्टीको आन्तरिक व्यवस्थापनमा सहजता। आन्तरिक कचिंगल झन् चर्किएको छ। तिहारपछि मन्त्रिमण्डलमा व्यापक पुनर्गठन गर्ने बताउँदै प्रधानमन्त्री थामथुम पार्ने कोसिस गर्दैछन्।

हरेक दिन मिडियामा आउने पुनर्गठनको हेडलाइनले हरेक मन्त्रालय मात्र होइन, मातहतका अड्डा पनि तरंगित हुन्छन्। पुनर्गठनको हल्लासँगै पछिल्ला दिनमा सिंहदरबार अलि ‘मुडअफ’जस्तो देखिन्छ। हरेक मन्त्रालयका हरेक कोठामा कामभन्दा पुनर्गठनकै चर्चा र चिन्ता बढी चल्छ। मन्त्रीलाई कार्यकक्षमा बसेर काम गर्ने मन हुँदैन अनि सचिव पनि बाहिरै बरालिन्छन्। तलका कर्मचारीमा पनि ‘मन्त्री जान्छन् कि नयाँ आउँछन्’भन्‍ने आस र त्रास दुवै देखिन्छ। पुनर्गठनको चर्चाले यसरी सिंहदरबार अल्झिएको धेरै समय भयो।

प्रकाशित मिति: : 2020-10-21 10:12:00

प्रतिकृया दिनुहोस्