कोरोना त्रासले दशैं खल्लो : घरछिमेकमा संक्रमण फैलिँदा छैन उमङ्ग

तस्बिर : लोकान्तर
जीवन विष्ट

दशैं नजिकिँदै गर्दा परदेशबाट पैसा बोकेर गाउँघर फर्किनु अधिकांश नेपालीको भोगाइ हुन्थ्यो । दशैंका बेला गाउँघरमा आफन्त, इष्टमित्रबीच भेटघाट र भलाकुसारी हुन्थ्यो ।

यसपालिका कोरोना भाइरस संक्रमणको महामारीले समय फेरेको छ । धनगढीका ६५ वर्षीय दानसिंह उपाध्याय भन्छन्, ‘यस वर्ष परिस्थिति ठीक विपरीत छ । गरीबीको मारले दशैंको मुखमा मुग्लान पस्नेहरूको संख्या पनि उत्तिकै छ ।’

परदेशिएका आफन्त घर फर्किंदा हाँसीखुशी मनाइने दशैं यसपालि खल्लो भएको छ । आफन्तहरू दशैंको मुखमा परदेश गएका छन् । ‘कोरोनाले स्वदेशमै भएका आफन्त पनि भेटघाटमा जान सकिने अवस्था छैन । छोरीचेलीहरू माइतीघर आउने स्थिति छैन,’ उनले भने ।

कोरोनाको संक्रमण झन् बढ्दै गएपछि नेपाली नागरिक त्रसित छन् । ‘कुन बेला कोरोनाले समात्ने हो भन्ने चिन्ता छ,’ अत्तरियाकी सीता थापाले भनिन्, ‘दशैं त शुरू भयो तर के गर्ने ? यस्तो कोरोनाको समयमा कसरी दशैं मनाउनु ? अब घरमै दशैंको टीका लगाएर मनाउनुपर्ला । यस वर्ष विगत जस्तो उत्साह छैन ।’

प्रकाशित मिति: : 2020-10-24 11:52:00

प्रतिकृया दिनुहोस्