कुनै लाभ नपाएरै यी व्यक्ति ८ वर्षदेखि सर्प संरक्षणमा तर सरकारको सहयोग अर्कैलाई

लोकान्तर

जनकपुरधाम
तस्बिर : लोकान्तर

अजय अनुरागी

जनकपुरधाम उपमहानगरपालिका–१२ कटैया चौरीस्थित रीना झाको घर अगाडि रहेको इँटामा कात्तिक ३ गते ठूलो गोमन सर्प लुकर बसेको थियो । इँटा लिन गएका मजदुरको हातमा सर्पको पुच्छर लाग्यो ।

सर्प, सर्प भन्दै मजदुरले हल्ला गरेपछि स्थानीय भेला भए । सर्प भने इँटाभित्र पस्यो । इँटाभित्र लुकेको गोमन सर्प नै भएको निष्कर्षपछि स्थानीय त्रसित बने ।

केहीले सर्प मार्नुपर्छ भनेर सुझाव दिए भने केहीले भगाउने उपाय सुझाए । तर सर्प नजिक जाने आँट कसैलाई भएन । गोमन सर्प तराई क्षेत्रमा पाइने विषालु सर्प मानिन्छ । गोमनले टोकेपछि धेरैजसो व्यक्तिको अस्पतालसम्म नपुग्दै मृत्यु हुने गरेको छ ।

गोमन, करेत प्रजातिका विषालु सर्प देख्ने वित्तिकै धेरैले मार्ने प्रयास नै गर्छन् । तर स्थानीय विजयप्रताप सिंहले सर्प संरक्षणमा लागेका देवनारायण मण्डललाई फोन गरे । मण्डल ‘मिथिला वाइल्ड लाइफ ट्रस्ट’ संस्था गठन गरेर सर्पको निःशुल्क संरक्षण गर्ने काम गर्छन् ।

मण्डलले आफू जनकपुर बाहिर रहेकाले आफ् विद्यार्थीलाई पठाइदिने जानकारी दिए । जनकपुरधामबाट २० किलोमिटर टाढाबाट मोटरसाइकल चढेर २० वर्षीय गणेश साह र २१ वर्षीय चन्दन ठाकुर २ घण्टापछि सर्प भएको स्थानमा थिए ।

करीब आधा घण्टाजतिमा सर्पलाई थकाएपछि सुरक्षित तरिकाले सर्पलाई झोलामा राखेर पछि नजिकको चौरमा छोडेका थिए । 

धनुषाधाम किसाननगरका साह अहिले १२ कक्षामा अध्ययनरत छन् । १४ वर्षको उमेरदेखि नै उनले सर्प समात्ने तालिम मिथिला वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलबाट लिएका थिए । अहिलेसम्म कूल १ हजार ३३३ सर्पलाई घरबाट समातेर उद्धार गरेको उनी बताउँछन् । गत वैशाखमा उनले २ वटा दुधिलो करेत आफ्नै गाउँ किसाननगरमा फेला पारेका थिए । करेत सर्पका विभिन्न प्रजाति हुने तर फेला पारेको सर्प ‘बंगारस वाली वाला’ र ‘बंगारस निगर वाला’ प्रजातिका सर्प पहिलो पटक फेला परेका भनेर पुष्टि भएको उनले बताए ।

प्रकाशित मिति: : 2020-10-24 19:49:00

प्रतिकृया दिनुहोस्