‘अबका दशैँ यसरी मनाऔँ’

टेकनारायण रिमाल ‘कौशिक’

याँगौँ,म्यान्मा(बर्मा)

आयुर्लम्बित होस् र स्वस्थ तन होस् सङ्ग्लो सफा होस् मन
दुर्गाले  सय  वर्षसम्म  भवमा  रम्ने  दिऊन्  जीवन
माया बाँड्न सकी परस्पर खुशी पाएर हाँसून् सबै
दुर्गाले  धन  धान्यको  वर  दिऊन्  गाएर  नाचून्  जन।।१।।

बाटो विस्तृत  लक्ष्य  पुष्पित,  बडो  रङ्गीन  होस्  यौवन
माताको करुणा रहेर मुटुका ताजा रहून् धड्कन
माटो उर्वर, जोश जाँगरसँगै सग्ला रहून् पाखुरा
माताको  सबले  गरून्  घर घरै चोखो-नितो अर्चन।।२।।

आमाको शुभनाममा पशुहरू मार्ने प्रथा बन्द होस्
रक्ताम्मे मठ पार्नमा बल दिने कालो कथा बन्द होस्
प्राणीमात्र खुशी भईकन यहाँ बाँच्ने छ पूरा हक
प्राणीले परिवारको विरहमा भोग्ने व्यथा बन्द होस्।।३।।

चोखो बुद्धि विवेक फेरि जनमा जागेर आयो भने
बाँझो झैँ मुटु फेरि उर्वर बनी प्रीती पलायो भने
हर्ने क्रूर दशा दशैँ हुन गई चौतर्फ होला जय
कालो रात स्वत: हराउँछ बुझौँ बत्ती जलायो भने।।४।।

आऊ मित्र! मनाउँ सात्त्विक दशैँ  सन्तान मौलाउन
हाहामा खलका भुलेर यसरी छोडौँ न! बौलाउन
हत्या सन्ततिको गरेर कसरी हुन्छिन् खुशी अम्बिका
आएका सब चाड जान जन हो यै ज्ञान सम्झाउन।।५।।

सानादेखि   लिएर  वृद्ध  वनिता  सारा   बनून्  सात्विक
खुल्नेछन् अनि पो मनुष्य-मनका  गाँठाहरू तात्विक
शङ्काछैन   नमैलिए  रगतले,  सौभाग्य बन्ला  दशैँ  
जान्ला यै नवरात्रबाट युगले विज्ञान-आध्यात्मिक।।६।।
                                                                                  याँगौँ,म्यान्मा(बर्मा)

प्रकाशित मिति: : 2020-10-24 20:22:00

प्रतिकृया दिनुहोस्