कोरोना संक्रमण बढेपछि डब्ल्यूएचओको चेतावनी– स्कुल फेरि बन्द गर (भिडियाेसहित)

रमेशराज वास्तोला

पोर्चुगल (लिस्बन)

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस एडहोनम गेब्रेसियोसले विश्वका सबै नेताहरूलाई चेतावनी दिँदै कोरोनाविरूद्ध एकजुट हुन आग्रह गरेका छन्। उनले कोरोना महामारीको दोस्रो चरण सुरु हुनेभन्दै यसप्रति गम्भीर बन्न सल्लाह दिएका छन्। 

उनले शिक्षा क्षेत्र, विशेषत स्कुल बन्द गर्न सबैलाई आग्रह गरेका छन्। उनले उत्तरी गोलाद्र्धमा कोरोनाको अवस्था खराब बन्दै गएको स्पष्ट पार्न चाहे। उनले भने, ‘आउँदो केही महिना निकै चुनौतिपूर्ण हुनेछ। हामी नेताहरूसँग आग्रह गर्न चाहन्छौं, मानिसको मृत्युलाई रोक्न ठोस कदम आवश्यक छ।’ उनले स्वास्थ्य सेवा ध्वस्त हुँदै गएकोप्रति सबैलाई सूचित गर्दै स्कुललाई पुनः बन्द गर्नुपर्ने आवश्यकता औल्याएका छन्।  

विश्वमा हाल कोरोनाबाट ४ करोड २९ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। जसमा ११ लाख ४२ हजारभन्दा बढीको निधन भइसकेको छ। ३ करोड १६ लाखको हाराहारीमा मानिसहरू ठिक भएको बताइएपनि कोरोनाको दोस्रो चरण सुरु हुँदा फेरि स्थिति भयावह हुने सम्भावना बढेर गएको छ। 

अहिले पनि विश्वमा १ करोडको हाराहारीमा कोरोनाको ‘एक्टिभ केस’ बाँकी छ। जसमा ७७ हजार मानिसको अवस्था चिन्ताजनक रहेको डब्ल्यूएचओको रिपोर्टमा उल्लेख छ। 

डा. टेड्रोसले भने जस्तै उत्तर अमेरिकी क्षेत्रमा हालसम्म १ करोडभन्दा बढी मानिस संक्रमित भइसकेका छन्, जसमा ३ लाख ४३ हजारभन्दा बढी मानिसको निधन भइसकेको छ। अहिले पनि यो क्षेत्रमा ३१ लाखको हाराहारीमा ‘एक्टिभ केस’ देखिएको छ। २० हजारको अवस्था त अझैं चिन्ताजनक मानिन्छ।
 
युरोपमा पनि केही सातायता कोरोनाको संक्रमण फेरि सुरु भएको छ। इटाली र फ्रान्स जस्ता देशमा पहिलो चरणको तुलनामा दोस्रो चरणमा झन् संक्रमित बढिरहेका छन्। 

एसियामा भारत एक्लैले सबैभन्दा बढी संक्रमितको बोझ बोकेको छ। त्यहाँ ७८ लाख संक्रमित भएका छन् भने १ लाख १८ हजारको हाराहारीमा मानिसको निधन भइसकेको छ। अमेरिकापछि भारत सबैभन्दा बढी संक्रमित देश हो। अमेरिकामा ८८ लाख मानिस संक्रमित छन् भने २ लाख ३० हजार मानिसको ज्यान गइसकेको छ। 

युरोपको पोर्चुगलमा संक्रमितको संख्या १ लाख १६ हजार पुगेपनि मर्नेको संख्या न्युन छ। यहाँ २२ सय ९७ जनाको मात्र निधन भएको छ।

प्रकाशित मिति: : 2020-10-25 09:05:00

प्रतिकृया दिनुहोस्