कोरोना कहरमा दसैं

नेपाल लाइभ

काठमाडौँ
तस्बिर : नेपाल लाइभ

डा डिला संग्रौला

नेपालीहरुको प्रमुख चाड दसैं यसपालि कोरोनाको कहरभित्र मनाउनुपर्ने बाध्यता आइपरेको छ। कोभिड–१९ को संक्रमण दिन प्रतिदिन बढोत्तरी हुँदै समुदायस्तरमा भयवह रुपमा फैलिँदै गएको छ।

जनजीवन भयभित, कष्टकर र जटिल बन्दै गइरहेको छ। जनता रोग र भोक दुवैबाट आक्रान्त छन्। मानिसलाई एक स्थानबाट अर्को स्थान वा एक जिल्लाबाट अर्को जिल्ला आवतजावत गर्न पनि अप्ठ्यारो, असहज र जटिल परिस्थिति उत्पन्न भएको छ।

दसैं नेपालीहरुको खुसी, हर्ष, उल्लास, शुभेच्छा र शुभकामना आदानप्रदान गर्ने पर्व पनि हो। तर अहिलेको दसैंले खुसीभन्दा पनि एउटा पीडा र दुःखबोध गराइरहेको छ। एक लाखभन्दा बढी मानिसहरु संक्रमित भइसकेका छन् भने कतिले मृत्युवरण गरिसकेका छन्। कति अस्पतालको आइसोलेसनमा छटपटाइरहेका छन्। कति आफ्नै घरको आइसोलेसनमा बसेका छन्। थुप्रै सुत्केरी आमाहरुले उपचार नपाएर मृत्युवरण गरेका छन्। कतिले भोक थाम्नै नसकी आत्महत्या गर्न पुगेका छन्। कैयौँ आमाहरु दिन दहाडै आफ्ना कलिला बालिका वा छोरीको बलात्कार, हत्याहिंसा र चीत्कारले पिरोलिएका छन्। द्वण्द्व हिंसा पनि बढेकै छ।

यस्तो संकटको घडीमा सरकारले न त जनतालाई राहत दिन सक्यो न त सान्त्वना नै। कोरोनाको न्यूनीकरण, संक्रमितको उपचार र पुनःस्थापना गर्नमा सरकारको कुनै प्रभावकारी पहलकदमी नै देखिएन। पहिलो पटक करिब ५ महिनाको लकडाउनपछि पुनःलकडाउन र निषेधाज्ञा गर्नबाहेक खासै तयारीमा जुटेको देखिएन। लकडाउनको समयमा कोभिड अस्पतालको व्यवस्थापन, आवश्यक स्वास्थ्य सामग्री, अक्सिजन, सघन उपचार कक्ष, भेन्टिलेटरको संख्यामा वृद्धि र परीक्षणको दायरा पनि बढाउन सकेन। बरु उल्टै सरकार भ्रष्टाचार, महँगी, कालोबजारीमा लिप्त रह्यो। त्यसैले यसपालिको दसैं दशा, दुविधा र अप्ठ्यारो सँगसँगै आएको छ।      

धार्मिक र सांस्कृतिक महत्त्व
दसैंको धार्मिक, सांस्कृतिक, सामाजिक र पारिवारिक महत्त्व पनि छ। यसलाई बडादसैं, दशहरा, विजया दशमी, नवरात्रि आयुध पूजा पनि भनिन्छ।  नेपालीहरुले राष्ट्रिय चाडको रुपमा मनाउने दसैं, हिन्दू धर्मालम्बीहरुले आश्विन महिनाको शुक्ल प्रतिपदादेखि नवमीसम्म शक्तिको आराधना गरी दसौं दिन आफूभन्दा ठूला मान्यवरहरुको हातबाट टीका प्रसाद ग्रहण गरेर विशेष रुपमा पूर्णिमासम्म मनाइन्छ। प्रतिपदादेखि नवदुर्गासम्म मातृशक्ति, महाभगवती, महालक्ष्मी, महासरस्वतीको विशेष पूजाआजा र आराधना गरिन्छ।

प्रकाशित मिति: : 2020-10-25 17:37:00

प्रतिकृया दिनुहोस्