गुप्तचर प्रमुखपछि किन आउँदै छन् भारतीय सेनाध्यक्ष, के सन्देश पठाउँदै छ नेपाल ?

भारतका स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरभणे कात्तिक १९ देखि तीन दिन नेपालको औपचारिक भ्रमणमा आउँदै छन् ।

नेपाली सेनाले मंगलबार सार्वजनिक गरेकाे भ्रमण तालिकाअनुसार नरभणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शीतलनिवासमा २० कात्तिकमा नेपाली सेनाको मानार्थ महारथी पदवी प्रदान गर्ने कार्यक्रम छ ।  

भारतीय सेनाध्यक्षले सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार वार्ता सम्पन्न गरेर समकक्षी पूर्णचन्द्र थापासँग जंगी अड्डामा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता तथा एकान्त वार्ता गर्नेछन् । 

भोलिपल्ट स्वदेश फर्कने दिन उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् भने शिवपुरीस्थित नेपाली सेनाको कमान्ड एन्ड स्टाफ कलेजमा नेपाली सेनाका अधिकारीहरूलाई सम्बोधन गर्नेछन् । 

त्यसक्रममा उनले अन्तर्राष्ट्रिय, क्षेत्रीय र नेपाल–भारत द्विपक्षीय सुरक्षा वातावरणबारे भारतको पछिल्लो धारणा राख्नेछन् । नेपाल आएकै दिन सेनाध्यक्ष नरभणेले भगवान् पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ । 

भारतको गुप्तचर एजेन्सी रअ प्रमुख सामन्तकुमार गोयल आएर फर्केको दुई साताभित्र हुन लागेको भारतीय सेनाप्रमुखको भ्रमणलाई नेपालले दुई देशबीच एक वर्षदेखि ठप्प कूटनीतिक संवाद सुचारु गर्न उपयोग गर्न लागेको छ।

सन् २०१६ मा नेपालमा नाकाबन्दी थियो र त्यसवेला पनि नेपालमा प्रधानमन्त्री केपी शर्मा ओली थिए । त्यसवेला नेपालमा जारी भएको नयाँ संविधानबारे असमझदारी हुँदा नेपाल र भारतको कूटनीतिक र राजनीतिक नेतृत्वबीच संवाद बन्द थियो ।

प्रकाशित मिति: : 2020-10-28 07:51:00

प्रतिकृया दिनुहोस्