कोभिडका लागि छुट्याइएका आधा बेडमा मात्रै बिरामी : बाहिर बिरामी छटपटाउँदै, भित्र बेड किन खाली ?

तस्बिर : नयाँ पत्रिका

अर्जुन अधिकारी

स्वास्थ्य मन्त्रालयका प्रवक्ता भन्छन्– हामीले अनुगमन गर्न पाएका छैनौँ, कारबाही गर्न सकेका छैनौँ

स्वास्थ्य मन्त्रालयकै तथ्यांक भन्छ– कोभिड उपचार हुनेमध्ये राजधानीका १२ अस्पतालमा १९ सय ५५ आइसोलेसन बेड छन् । आधाभन्दा धेरै अर्थात् एक हजार ६९ बेड अहिले पनि खाली छन्, तर सर्वसाधारण बिरामीले भर्ना पाएका छैनन् । 

देशभरका अस्पतालमा कोरोना संक्रमितका लागि छुट्याइएका आधाभन्दा धेरै आइसोलेसन बेड खाली छन्् । तैपनि अस्पतालहरूले संक्रमितलाई ‘बेड खाली छैन’ भन्दै फिर्ता पठाइरहेका छन् । जनस्वास्थ्यमाथि गम्भीर खेलबाड भइरहँदा स्वास्थ्य मन्त्रालय भने मूकदर्शक छ । 

अस्पतालहरूले कोभिड संक्रमितका लागि छुट्याएका बेडको दैनिक अपडेट स्वास्थ्य मन्त्रालयलाई बुझाउँछन् । जसमा प्रायः आधाजति बेड खाली देखिन्छन् । फेरि पनि बिरामीलाई किन फिर्ता पठाइन्छ त ? व्यवस्थापन, अनुगमन र कारबाहीको जिम्मेवारी बोकेको स्वास्थ्य मन्त्रालय उल्टै लाचारी प्रकट गर्छ । ‘अस्पतालहरूले मन्त्रालयलाई बुझाएको दैनिक रिपोर्ट हेर्दा बिरामीभन्दा केही संख्यामा बेड खाली देखिन्छन् । प्रभावकारी सफ्टवेयरको व्यवस्था नहँुदा अस्पतालहरूले बेडसंख्या लुकाउने गरेका पनि हुन सक्छन्,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘मन्त्रालयले अस्पतालहरूको अनुगमन गर्न नसक्दा यस्तो समस्या आएको हो ।’

स्वास्थ्य मन्त्रालयबाट प्राप्त बिहीबारसम्मको तथ्यांकअनुसार काठमाडौंमा कोभिड उपचार हुनेमध्ये दुईवटामा मात्रै क्षमताअनुसार चाप छ । टेकु अस्पतालका ५८ बेडमध्ये ५१ मा बिरामी छन् । त्यस्तै, स्टार अस्पतालका २१ बेडमध्ये सबै बेडमा बिरामी छन् । बाँकी सबै अस्पतालमा प्रशस्त मात्रामा बेड खाली छन् । शिक्षण अस्पतालमा १३२ बेडमध्ये १०२ मा, वीर अस्पतालमा ४६० मध्ये जम्मा १०१ मा र सशस्त्र प्रहरी अस्पतालमा २०० मध्ये १११ मा संक्रमितको उपचार भइरहेको छ । 

प्रकाशित मिति: : 2020-10-30 07:54:00

प्रतिकृया दिनुहोस्