फ्रान्समा डेढ महिना लकडाउन घाेषणा गरेसँगै राजधानी पेरिस छाड्नेको संख्या ह्वात्तै बढ्याे

फ्रान्समा सरकारले देशभरि डेढ महिना लामाे लकडाउन घाेषणा गरेसँगै राजधानी पेरिस छाड्नेको संख्या ह्वात्तै बढेको छ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि आज रातिदेखि फ्रान्समा दोस्रो चरणको लकडाउन सुरु हुने भएपछि सहर छाड्नेको संख्या बढेको छ।

राष्ट्रपति इम्यानुएल म्याक्रोँले बिहीबार टेलिभिजन सम्बोधनमार्फत् शुक्रबारदेखि लागु हुने गरी पुनः लकडाउनको घोषणा गरेका थिए। 

उनकाे घाेषणासँगै राजधानीमा बसिरहेकाहरुले सहर छोड्दा ७ सय किलोमिटरसम्म लामो ट्राफिक जाम भएको छ। 

कोरोना महामारीको सुरुमा युरोपमा अति प्रभावित राष्ट्रमध्येकाे एक देश हाे फ्रान्स। यहाँ मार्चमा पहिलोपटक लकडाउनकाे घाेषणा गरिएकाे थियाे। त्यो बेला दुई महिना लकडाउन लागु भएको थियो। 

फ्रान्समा पछिल्लो दिनयता कोरोना संक्रमितसँगै ज्यान गुमाउनेको दर बढ्दै गएको छ। हिजोमात्रै साढे ४७ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको र २ सय ५० जनाको ज्यान गएको छ। 

दोस्रो चरणको लकडाउन लागू भएसँगै फ्रान्सका स्थानीयले अति-आवश्यक नपरि घरबाहिर निस्कन पाउने छैनन्।

रेस्टुरेन्ट, बारसहितका अत्यावश्यकभन्दा बाहिरका सेवा बन्द रहने छन्, तर विद्यालय र उद्योगहरु खुला हुनेछन्।

तर, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सामाजिक दुरी र मास्क अनिवार्य गर्न चेतावनी दिँदै आएको छ। अझ उसले तत्काल स्कुल नखोल्न र भीडभाड हुने स्थान बन्द गर्न आग्रह गरेको छ।

प्रकाशित मिति: : 2020-10-30 10:43:00

प्रतिकृया दिनुहोस्