टी–२० मा एक हजार छक्का पूरा गर्ने एक्ला खेलाडी बने गेल

वेस्टइन्डिजका ब्याट्सम्यान क्रिस गेलले टि–२० क्रिकेटमा ऐतिहासिक एक हजार छक्का पूरा गरेका छन् ।

गेल टि–२० क्रिकेटमा एक हजार छक्का प्रहार गर्ने पहिलो खेलाडी हुन् । गेलले ४ सय १० खेलमा यस उपलब्धी हात पारेका हुन्।

इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार किंग्स इलेभेन पन्जाबबाट राजस्थान रोयल्सविरुद्धकाे खेल उनकाे ४ सय १० औँ थियाे।

उनले उक्त खेलमा ९९ रन प्रहार गरे। जसक्रममा गेलले बेन स्टोक्सलाई १९ औं ओभरको पाँचौ बलमा मिड विकेटमा छक्का प्रहार गर्दै यस उपलब्धी हात पारेका थिए ।

राजस्थानविरुद्ध गेलले ६३ बलमा ६ चौका र ८ छक्का प्रहार गरेका थिए।

टि२० मा सर्वाधिक छक्का प्रहार गर्ने दोस्रो स्थानमा वेस्टइन्डिजकै काइरन पोलार्ड छन् । पोलार्डले ५ सय २४ खेलमा ६ सय ९० छक्का प्रहार गरेका छन् ।

तेस्रो स्थानमा न्युजिल्यान्डका पूर्व कप्तान ब्रेन्डन म्याकुलम छन् । म्याकुलमले ३ सय ७० खेलमा ४ सय ८५ छक्का प्रहार गरेका छन् । 

यता शेन वाटसनले ४ सय ६७, आन्द्रे रसेलले ४ सय ४७ र एबी डिभिलियर्सले ४ सय १७ छक्का प्रहार गरेका छन् ।

प्रकाशित मिति: : 2020-10-31 08:29:00

प्रतिकृया दिनुहोस्