१० दिनमै मुख्यमन्त्री पौडेलले जिते कोरोना

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना संक्रमणमुक्त भएका छन्। 

कोरोना पुष्टि भएको १० दिनपछि उनी कोरोना संक्रमणमुक्त भएका हुन्। 

पौडेलको कात्तिक ६ मा हेटौंडा १० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो। उनलाई गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्र बाँसबारीमा उपचाररत थिए।

कात्तिक १५ शनिबार काभ्रेको धुलिखेलमा पुनः स्वाब परीक्षण गर्दा उनकाे रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए।

उनका अनुसार पौडेल कोरोनामुक्त भएपनि गंगालालमा उपचार भइरहेको छ।  मुख्यमन्त्री पौडेलको स्वास्थ्यमा समस्या नरहेको उनले बताए।

मधुमेहका बिरामी मुख्यमन्त्री पौडेलको जेठ महिना गंगालालमै मुटुको शल्यक्रिया गरिएको थियो। कोरोना संक्रमण भएर होम आइसोलेसनमा रहेका उनलार्ई थप उपचारका नेपाली सेनाको हेलिकोप्टरमार्फत कात्तिक ७ मा काठमाडौं ल्याइएकाे थियाे।

उनीसँगै पौडेलकी श्रीमती विजया पौडेल, एक सुरक्षाकर्मी, दुई चालक र एक कार्यालय सहयोगीलाई पनि कोरोना संक्रमण भएको थियो।

मुख्यमन्त्रीकी श्रीमती पौडेलको पुनः परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ नै आएको छ। सुरक्षाकर्मी, चालक र कार्यालय सहयोगी भने आइसोलेसनमै छन्।

प्रकाशित मिति: : 2020-11-01 11:58:00

प्रतिकृया दिनुहोस्