बन्दाबन्दीमा फुरेको उद्यमको सोच

सांकेतिक तस्बिर

गत चैतअघिसम्म कमल राना पोखरामा बस्थे। त्यहाँ रहँदा प्रदेशसभा सदस्य पियारी थापाको स्वकीय सचिवका रुपमा काम गरे। एकाएक कोभिड–१९ को सन्त्रास छायो। मुलुकभर बन्दाबन्दी भयो।

स्थिति असामान्य बनेपछि रानाले पोखरा छाड्ने निर्णय लिए। बन्दाबन्दीपछि जैमिनी नगरपालिका–७ जैदी, बोरस्थित घर फर्केका रानाले केही समय फुर्सदमा बिताए। महामारीले सिर्जित अन्योलबीच उनमा नयाँ सोच फु¥यो। अब पोखरा नजाने, गाउँमै केही गर्ने। 

त्यसकै परिणाम ‘जैदी माछापालन, कृषि तथा पशु फार्म’ले जन्म लियो। 'बन्दाबन्दीमा लामो समय घर बस्नुप¥यो, त्यही बेला व्यवसायतिर लाग्ने योजना बनाएँ' २५ वर्षीय रानाले भने। उनी अहिले स्वकीय सचिवको जिम्मेवारीबाटसमेत मुक्त भइसकेका छन्।

रानाले नगरपालिका र कर कार्यालयमासमेत फार्म दर्ता गरी व्यवसायलाई गति दिएका हुन्। वार्षिक रु ६० हजार भाडामा साढे पाँच रोपनी जग्गा लिइ माछा र बङ्गुरपालन थालेको उनको भनाइ छ। दुई वटा पोखरीमा गत असारमा राखेका चार हजार ७०० माछा अहिले हुर्किरहेका छन्। 

पोखरीमा कमन ग्राफ, नैनी र सिल्भर जातका माछा छन्। अर्को पोखरी पनि थप्ने रानाको योजना छ। आउँदो माघ/फागुनतिर माछा बेच्न योग्य हुनेछन्। ५० वटा बङ्गुर पाल्नका लागि राना अहिले खोर निर्माणमा जुटेका छन्। खाली रहेको जग्गामा केरा खेती पनि छ। 'माछा र बङ्गुरपालनसहित व्यावसायिक कृषि खेतीलाई पनि विस्तार गर्ने सोचमा छु', उनले भने। घरदेखि एक घण्टाको दूरीमा रहेको बेलबगरमा रानाको फार्म छ। त्यहाँ उत्पादित माछा, पशु र कृषिजन्य उपज नगरपालिकाको केन्द्र कुश्मीसेरा, गुल्मीको पूर्तिघाट, बरेङलगायत बजारमा खपत हुने उनले बताए। 

फार्म निर्माणमा हालसम्म रु सात लाख जति लगानी भइसकेको छ। आधा आफँै र आधा ऋण खोजेर लगानी गरेको रानाले बताए। 'अहिले घरकै सदस्यले काम धानेका छौँ, बुबा, दाइ, भाउजु सबैको सहयोग छ', उनले भने। व्यवसाय विस्तार हुँदै गएमा अरुलाई पनि रोजगारी दिने रानाको योजना छ। अहिले माछालाई दानाबाहेक मासिक खर्च पनि खासै धेरै छैन। 

गाउँमै स्वरोजगार बन्ने उद्देश्यले रानाले शुरु गरेको व्यवसायप्रति घरपरिवार र छिमेकीसमेत खुशी छन्। बुबा उजिरसिंहले छोराको मेहनत देखेर व्यवसाय राम्रै हुने विश्वास जागेको बताए। रानाले केही समय सदरमुकाम बागलुङ बजारमा बसेर पत्रकारितासमेत गरेका थिए। रासस 

प्रकाशित मिति: : 2020-11-02 14:53:00

प्रतिकृया दिनुहोस्