कोरोना बिमाको दाबी भुक्तानी ७ दिनभित्र गर्नू: अर्थ मन्त्रालय

अर्थ मन्त्रालयले कोरोना बिमाको दाबी भुक्तानी ७ दिनभित्र गर्न निर्देशन दिएको छ।

कोरोना बिमा दाबी गरेका बिमितहरुको पीसीआर परीक्षण प्रतिवेदन पोजिटिभ प्रमाण भएपछि बिमा समितिबाट जारी भएका कोरोना बिमा लेख बमोजिमको दाबी गरेका बिमितहरुको बिमांक रकम एक हप्ताभित्र भुक्तानी गर्न निर्देशन दिइएको हाे।

अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा साेमबार अर्थमन्त्रालय भएको बैठकपछि एक हप्ताभित्र बिमा रकम भुक्तानी गर्ने कार्यको समन्वय र अनुगमन बिमा समितिले गर्नुपर्ने र दाबी भुक्तानीको दैनिक प्रतिवेदन पठाउन पनि समितिलाई निर्देशन दिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।

यस्तै, कोरोना बिमाको दाबी भुक्तानी कार्यमा सेवाग्राहीबाट आएका गुनासाहरुको सुनुवाई गरी समस्या समाधानका लागि सम्बन्धित बिमा कम्पनीहरुलाई निर्देशन दिन हटलाइन टेलिफोन सहितको हेल्प डेक्स सञ्चालनको व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

छलफलमा बैठकमा अर्थ मन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुंगाना, रामशरण पुडासैनी, बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईं, बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डे लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: : 2020-11-03 18:51:00

प्रतिकृया दिनुहोस्