९ वर्षीय बालिकासहित थप चार काेराेना संक्रमितकाे मृत्यु

फाइल तस्वीर
फाइल तस्वीर

नेपालमा काेराेना संक्रमणबाट थप चार जनाकाे मृत्यु भएकाे छ। कोरोना संक्रमणले सुनसरीमा दुई, झापामा एक र चितवनमा एक जनाकाे मृत्यु भएको छ।

इटहरी उपमहानगरपालिका६ की ९ वर्षीर्या बालिका र धरान १ की ६१ वर्षीया महिलाकाे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड-१९ अस्पतालमा मृत्यु भएकाे छ। 

कात्तिक १७ गते पीसीआर जाँच गर्दा कोरोना पोजिटिभ देखिएकी बालिकालाई १८ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियाे। 

पहिल्यैदेखि ‘अटो इम्युन कन्डिसन’को समस्या रहेकी बालिकाको बुधबार बिहान पौने ४ बजे मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए। 

कात्तिक ५ गते कोभिड अस्पतालमा भर्ना भएकी धरान १ की महिलाकाे बुधबार बिहान सवा ३ बजे मृत्यु भएको छ। उनमा असोज ३० गते कोरोना पोजिटिभ देखिएकाे थियाे। उनमा उच्च रक्तचाप र फोक्सोसम्बन्धी समस्या थियाे। 

यता झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा उपचाररत मेचीनगर १४ का ७४ वर्षीय पुरुषकाे पनि मृत्यु भएकाे छ। 

कोरोना संक्रमण पुष्टि भएपछि उनलाई चार दिनअघि अस्पताल भर्ना गरिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पीताम्बर ठाकुरले जानकारी दिए।

यससँगै झापामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५४ पुगेको छ।

यस्तै  चितवनको भरतपुर अस्पतालमा उपचाररत पूर्वी चितवनको राप्ती नगरपालिका १० बस्ने ३९ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो।

कात्तिक १५ गते श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना भएकी थिइन्। उनलाई १७ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो।

 उनको अवस्था जटिल बनेपछि सोही दिनदेखि कोभिड आइसियूमा राखेर उपचार थालिएको थियो।

प्रकाशित मिति: : 2020-11-04 12:44:00

प्रतिकृया दिनुहोस्