कोरोना संक्रमितको उपचारमा निजी अस्पतालको शुल्क– ज्यालादारीले २० वर्षमा तिरिसक्दैन ऋण !

लोकान्तर

काठमाडौँ
तस्बिर : लोकान्तर

गगन अर्याल

कोरोनाभाइरस (कोभिड– १९) संक्रमितको उपचारमा निजी अस्पतालले बिरामी र आफन्तको ढाड सेक्ने गरी निकै महंगो शुल्क लिने गरेका छन् ।

संक्रमणको उपचारमा निजी अस्पतालले लिने शुल्क तिर्न तिर्न ज्यालादारी मजदुरलाई २० वर्षभन्दा बढी लाग्ने देखिन्छ । अझ ब्याज महंगो पर्‍यो भने त अरू केही वर्ष थप लाग्छ ।

एक जना कोरोना संक्रमितलाई काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना गरियो ।

उनको परिवारले लोकान्तरलाई दिएको जानकारी अनुसार आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गरे पनि अन्त्यमा संक्रमितको मृत्यु भयो । त्यसपछि बिल आयो ३६ लाख रुपैयाँको ।

बुटवलमा भेन्टिलेटर अभाव भएपछि उनलाई काठमाडौं ल्याएर ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो ।

यही हिसाबले हेर्दा ज्याला मजदूरी गर्ने व्यक्तिले सरकारी अस्पतालमा बेड खाली नभएर वा उपचार नपाएर निजीमा जानुपर्‍यो भने त्यसक्रममा लाग्ने खर्चको ऋण चुक्ता गर्न कम्तिमा पनि २० वर्ष लाग्ने देखिन्छ ।

सरकारले ज्यालादारी कामदारको मासिक तलब १४ हजार ५०० अर्थात् दैनिक करीब ५ सय रुपैयाँ तोकेको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सरकारले उपचारबाट हात झिक्दै गएको छ ।

पछिल्लो समय सरकारले कोरोना भाइरस संक्रमणको उपचारबाट हात झिकेपछि निजी अस्पतालले संक्रमितबाट आफूखुशी शुल्क असुल्दै आएका छन् । 

प्रकाशित मिति: : 2020-11-05 15:35:00

प्रतिकृया दिनुहोस्