प्रम ओलीको भन्दै जसको फोटो सामाजिक सञ्जालमा फैलियो

गोरखापत्र

काठमाडाैं

दीपकप्रसाद गौतम
वीरगञ्ज, कात्तिक २० गते । सामाजिक सञ्जालमा राखिएका तस्बिर भिडियो जस्ता कुरामा सत्य नबुझी धेरैले कमेन्ट र शेयर गर्छन् । यसो गर्दा कानुनी रुपमा अपराध ठहरिन्छ वा अरुकाे मानमर्दन हुन्छ भन्ने हेक्का धेरैलाई हुँदैन भन्ने कुराको एउटा उदाहरण तत्कालीन राजा वीरेन्द्रसँग एक व्यक्तिले टीका थाप्दै गरेको तस्बिर थियो ।

सामाजिक सञ्जालमा सो तस्बिर राखेर प्रधानमन्त्री केपी शर्मा ओलीमाथि टीकाटिप्पणी भए । तर टीका थाप्ने व्यक्ति पर्साको वीरगञ्ज उपमाहानगरपालिका अलौका जनकलाल साह हुनुहुन्छ । उहाँ आफैलाई सो फोटो कस्ले सामाजिक सञ्जालमा राख्यो भन्ने थाहा छैन । बुधबार मात्र उक्त तस्वीर भाईरल भएको एकजना साथीले बताएपछि उहाँले थाहा पाउनुभयो । करिब दुई वर्ष पहिले पनि कसैले उक्त फोटो मागेको तर आफूले कसैलाई नदिएको तर कहाँबाट फोटो बाहिरियो आफूलाई थाहा नभएको साहले बताउनुभयो ।
आफूले फोटोहरु जम्मा गरेर राखेको हुनाले उक्त फोटो पनि घरमा हुनुपर्ने, छ छैन खोजेर बताउने साहले बताउनुभयो । फोटो भाईरल भनेको त राम्रै कुरा हो तर त्यहाँ एउटा मिस्टेक हुन गएको छ कि मेरो फोटो हो तर प्रधानमन्त्री ओलीको भनिएकाले त्यो अन्तैतीर गए जस्तै लाग्यो ,साहले भन्नुभयो । साह नेपाल राष्ट्रवाद संघ केन्द्रिय कार्यालय वीरगञ्जका अध्यक्ष हुनुहुन्छ भने आफूलाई राजसंस्थाप्रति सर्मपित व्यक्ति ठान्नुहुन्छ ।

प्रकाशित मिति: : 2020-11-06 08:05:00

प्रतिकृया दिनुहोस्