राष्ट्रिय क्रिकेट टोली आगामी मङ्सिर दोस्रो सातादेखि प्रशिक्षणमा फर्किने

नेपाली राष्ट्रिय क्रिकेट टोली आगामी मङ्सिर दोस्रो सातादेखि प्रशिक्षणमा फर्किने भएको छ। 

नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्दले प्रशिक्षणका लागि राष्ट्रिय खेलकूद परिषद (राखेप)ले अनुमति दिएको जनाए। 

‘राखेपबाट प्रशिक्षणको अनुमति पाएपछि छठ पर्वको लगत्तै प्रशिक्षण शुरु हुनेछ। प्रशिक्षण अघि सबै खेलाडीको स्वाब परीक्षण गरिने छ। त्यसको नतिजाका आधारमा प्रशिक्षणमा सहभागी गराइने छ,’ बिएल नेपाली सेवासँग उनले भने। 

प्रशिक्षणका लागि क्यानले २४ भन्दा बढी खेलाडीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको उनले जानकारी दिए।  

खेलाडी र प्रशिक्षकलाई आवश्यक परेको खण्डमा होटल तथा गेष्ट हाउसमा राखिने चन्दले बताए। 

कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि क्रिकेट खेलाडी प्रशिक्षण विहीन अवस्थामा छन्। आठ महिनापछि खेलाडी सामूहिक अभ्यासमा जुट्ने छन्। 

यसअघि क्यानले राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण भदौ १ गतेदेखि थाल्ने योजना बनाएको थियो। तर क्यान र राखेपा आरोप प्रत्यारोपमा उत्रिँदा प्रशिक्षण अनिश्चित भएको थियो। 

कोरोनाका कारण नेपालमा तय भएका मुख्य तीन चर्चित क्रिकेट लिग, धनगढी प्रिमियर लिग, एभरेष्ट प्रिमियर लिग र पोखरा प्रिमियर लिगको मिति अनिश्चित छ।

कोरोनाकै कारण मुखैमा आएको एभरेष्ट प्रिमियर लिग समेत अनिश्चित भएको छ। वेस्ट इन्डिजका चर्चित ब्याट्सम्यान क्रिस गेल नेपालमा आउने चर्चा निकै थियो। तर कोरोना महामारीले प्रतियोगिता हुन नपाउँदा आयोजक प्रचारमा मात्रै सीमित रह्यो।

धनगढी प्रिमियर लिग पनि अनिश्चित कालका लागि स्थगित भएको छ।

कात्तिक महिनामा खेल तालिका भएको पोखरा प्रिमियर लिग पनि सञ्चालन हुने कुनै सुरसार छैन। 

प्रकाशित मिति: : 2020-11-06 15:20:00

प्रतिकृया दिनुहोस्