६ चिनियाँ जहाजबाट निगमलाई साढे २ अर्ब घाटा, व्यवस्थापनमा किन आनाकानी?

नेपाल लाइभ

काठमाडाैं

काठमाडौं- आन्तरिक हवाई उडानलाई प्रभावकारी बनाउन भन्दै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले खरिद गरेका ६ वटा चिनियाँ जहाज (४ वटा वाई–१२ र २ वटा एमए–६०) बाट ६ वर्षमा झन्डै २ अर्ब घाटा व्यहोरेको छ।

आर्थिक वर्ष २०७१/०७२ देखि आर्थिक वर्ष २०७६/०७७ सम्म आइपुग्दा निगमले ६ वटा चिनियाँ जहाजबाट कुल २ अर्ब ४८ करोड ३९ लाख ४८ हजार २ सय ८ रुपैयाँ घाटा व्यहोरेको हो। निगम स्रोतका अनुसार २ वटा एमए-६० जहाजबाट ६ वर्षमा १ अर्ब ५१ करोड २४ लाख ८४ हजार ८ सय ४६ रुपैयाँ घाटा भएको छ। यसैगरी, ४ वटा वाई-१२ जहाजबाट भने ९७ करोड १४ लाख ६३ हजार ३ सय ६२ रुपैयाँ घाटा भएको हो। चिनियाँ जहाजबाट निरन्तर घाटा भएको र उडान पनि प्रभावकारी हुन नसकेको भन्दै निगमले साउन १५ गतेबाट सदाका लागि जहाज ग्राउन्डेड गराइसकेको छ। जहाज ग्राउन्डेड भएपनि निगमले केही इन्जिनियर, पाइलट तथा बिमाबापतको रकम भने तिरिराख्नुपरेको छ। 

निगमले थप भारबाट जोगिन चिनियाँ जहाजको सहज व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय गुहारेको पनि ३ महिनाभन्दा बढी भइसकेको छ। मन्त्रालयले पनि अर्थ मन्त्रालयसँग जहाज व्यवस्थापनका लागि सहमति मागिरहेको छ। तर, अर्थ मन्त्रालयबाट जहाज व्यवस्थापनका लागि न सहज निर्णय भएको छ, न त पर्यटन मन्त्रालयबाट नै। 

निगमले भने चिनियाँ जहाजको जतिसक्दो छिटो व्यवस्थापन गर्ने प्रक्रियामा सहजीकरण गरिदिन अर्थ र पर्टयटन मन्त्रालयलाई आग्रह गर्दै आएको छ। जहाज व्यवस्थापनका लागि अर्थ मन्त्रालय वा पर्यटन मन्त्रालयल आफैँ जिम्मेवारी लिएर व्यवस्थापन गर्नुपर्ने कि त निगमलाई नै जहाज व्यवस्थापन गर्न दिनुपर्ने निगमको माग छ। 

प्रकाशित मिति: : 2020-11-11 16:36:00

प्रतिकृया दिनुहोस्