कल्सी कलिङ (फाेटाे फिचर)

मुटु छुने लुम्लेको हावाले
मनै छुने लज्जालु मायाले
पुन हिलैमा।
फूल जस्ति सोल्टिनी
बस्यौ दिलैमा।।

२०५४ सालमा परिवेश–२ एल्बम रिलिज भयो। गायक तिलक बम मल्ल र पोखरेली युवा विशालजित पालिखे मिलेर लेखेको गीत सुपर हिट भयो। करिब २ दशकअघि बिमोचन गरिएको गीतले तहल्कै पिट्यो। त्यस बेला प्रत्येक युवा–युवतिको मुखमा झुण्डिएको थियो त्यही गीतको एउटा पंक्ति–मुटु छुने लुम्लेको हावाले।

उत्तरतिर अन्नपुर्ण हिमशृंखलामा पर्ने माछापुच्छ्रे, मर्दीसहित दर्जनौ हिमालको लर्कन, उत्तर–दक्षिणमा पोखरा, फेदैमा कलकल बगेको मोदी खोला। त्यसको ठिक माथि पुनहिल र घान्द्रुक गाउँ। 

प्रायः एकनासको मुटु छुने चिसो हावा चल्छ। वसन्त ऋतुमा फुल्ने गुराँसले डाँडाकाँडा पुरै ढाकेको छ। निकै रमणीय ठाउँ लुम्ले। 

यहि सेरोफेरो र परिवेश जोडेर शब्द चयन गरेको लोकप्रिय गीतमा पालिखेले आफ्ना भाव पोखेका थिए। लुम्ले कृषि अनुसन्धान केन्द्रका कारण पनि प्रख्यात छ। 

सन १९६८ सालमा बेलायत सरकारले भुतपूूर्व गोर्खा सैनिकलाई उनीहरूको सेवानिवृत्तपछि जिविकोपार्जनमा सघाउँपग्ने उद्देश्यले यसको स्थापना गराएको थियो।  यहि लुम्लेको डाँडा, कयरबारीमा पर्छ, कल्सी।

प्रकृतिसँग रमाउन कल्सी अर्थात ‘ब्ल्याक ब्युटी’

सुन्दर नगरी पोखराबाट नजिकै किरिब २५ किमी उत्तर–पश्चिम बाग्लुङ–बेनी हाईवेमा पर्छ, लुम्ले। लुम्ले गाउँमा आरोमा होम्स होमस्टे छ। गाउँको बसाइँ, रहनसहन र लोकल परिकारको स्वाद चाख्न पाइन्छ।

यहिबाट उत्तरतिर करिब ४५ मिनटको हाइकिङ गरेर पुगिन्छ, कल्सी (इको लज)। जसको थीम हो– प्रकृतिसँगै वस्नुस्। चारैतिर हरियो जंगलले घेरिएको, बीचबीचमा कल्सी अर्थात गुरुङ भाषामा यसको अर्थ ‘काली सुन्दरी’, उत्तरतिर अन्नपुर्ण हिमश्रृंखला। समुन्द्र सतहदेखि करिब १९०० मिटरमा अवस्थित, जस्तो थीम उस्तै वातावरण। 
 
साच्चिकै प्राकृतिक प्रेमीको लागि उपयुक्त छ कल्सी। एकान्त र शान्त। सधै काम र भागदौडको जिन्दगीको थकानबाट आराम गर्ने उपयुक्त पोखरादेखि नजिकको होलिडे स्पट।

गत साता एक्स्प्लोर डोल्पाका प्रबन्ध निर्देशक जितेन्द्र झाँक्री मगरसहित पासाङ डधुल र जिग्मे भाई त्यहाँ बेलैमा पुगिसकेका थिए। स्याङजाबाट लुम्ले पुग्दा झमक्कै साँझ परेको थियो। सुकबहादुर घले भाई र म लुम्लेमा बाईक थन्क्याएर हिँड्दा रात परिसकेको थियो। 

टर्च बालेर विस्तारै गाउँको बीच गोरेटो हुँदै उकालोतिर लम्कियौं। चकमन्न रात, सुनसान जंगलको गोरेटो छिचोलेर करिब १ घण्टामा पुगियो, कल्सी इको लज। 

हल्का चिसो मौसम, साथीहरू क्याम्पफायर वरिपरि झुम्मिएका थिए। चिकेन बार्बिक्युमा रमाइरहेका। पर्यटनकर्मी चित्र गुरुङ दाई र भाउजुको न्यानो आतिथ्यसँगै हतारमा मैले अभिनन्दन टक्र्याए। तुरन्त झोला बिसाएर क्याम्प फायरमा सहभागी भइयो। यो मेरो तेस्रो कल्सी भ्रमण थियो।

दिनभरको बाइक यात्रा र हाइकिङको थकान एकछिन मै बिलायो। अबेरसम्म क्याम्पफायरको तापमा रमाउदै भलाकुसारी र स्वदिष्ट डिनर पश्चात सुत्न आरामदायी क्याबिनतर्फ छिर्यौ। भुसुक्कै निदाइएछ।

बिहान झिसमिसेमा उठ्दा हिमाल शान्त थियो। अहो! अन्नपुर्ण साउथ, हिमचुली, गंगापूूर्ण, माछापुछ्रे, अन्नपुर्ण २, ४ देखि पूूर्वतिर हिमालको लामो लर्कन आँखै अगाडि देख्दा दंग परे।

हेर्दाहेर्दै विस्तारै घाम झुल्कियो। हिमाल खुल्दै गयो। मन्द हिमाल, पहेँलो हुँदै एकछिनमा सेताम्मे भयो। रुपान्तरणको यो क्षण निकै रोमाञ्चक थियो। 

शब्दमा बयान गर्न नसकिने, केवल अनुभव मात्र गर्न सकिने। प्रफुल्लित हुँदै क्यामेरामा तस्वीर कैद गरे। मित्र जितेन्द्र र दुई भाई हिमाल हेर्दै आनन्द लिइरहेका बेला आफू फोटा खिच्न मग्न थिए। यस्तो अनुपम दृश्यावलोकन देख्न पाउँदा कसको मन प्रफुल्लित नहोला? 
  त्यतिन्जेल बाहिर सजिएको टेबलमा तातो चियाको चुस्की लिँदै गर्दा घामले मन्द गतिमा प्रकाश छर्दै थियो। उता आकाश नीलो हुँदै गर्दा हिमाल झन् झन् खुल्दै गरेको प्रत्येक पल, फरक फरक दृश्य। आहा! घामको किरणसँगै चम्किलो हिमालको मुस्कान कल्सीको आँगनमा छरियो। 

दिगो पर्यटन अभ्यासको उत्कृष्ट नमुना

तान्चोक गाउँ र लुम्लेको डाँडा कयरवारीमा अवस्थित छ, कल्सी। लजका परिकल्पनाकार हुन तान्चोक निवासी पर्यटनकर्मी चित्रबहादुर गुरुङ। 

विगत ३ दशकदेखि पर्यटन क्षेत्रको अनुभव बटुलेका भद्र र सालीन गुरुङले पर्यटन संस्था नाटामा कार्यकारी सदस्य र भिटोफ केन्द्रमा अध्यक्ष पद सम्हालिसकेका छन्। हाल उनी लायन क्लब अफ सम्बालाको वर्तमान अध्यक्ष हुन्।
  प्रायः लाउरे प्रथामा होमिने गुरुङ समुदायमा जन्मेका उनी एसएलसी पास गरेपछि पोखरामा क्याम्पस पढ्न झरे। उच्च शिक्षाको लागि काठमाडौं पुगे। 

तत्कालीन शानेवानीका स्टेशन म्यानेजर, काका सीवी घोटानेको सहयोगमा पोखरा ट्राभल एजेन्सी, न्युरोडमा जागिर खान पुगे। 

उनी बिहान क्याम्पस जान्थे भने दिउँसो जागिर गर्थे। त्यसपछि यति ट्राभलमा जागिर गरे। केहि समयपछि उनलाई आफै केहि गर्नुुपर्छ भन्ने हुटहुटी जाग्यो। सन १९९३ मा कम्पनी नै खोले। 

त्यसबेला कम्पनी खोल्न निकै झण्झटिलो प्रक्रिया रहेको उनले बताए। ५५ हजार तिरेर ओवाइटी टेलिफोन लिएको सम्झना छ, उनलाई। 

फाट्फुट् टिकेटिङबाट सुरु गरेको उनको व्यवसायपछि टुर र ट्रेकिङमार्फत विदेशी पर्यटकलाई सेवा दिन थाले।

गाउँले प्रथा पछ्याउँदै दुईचोटी ब्रिटिश गोर्खाभर्तीमा कोशिस गरे, उनेले। २ पटकको असफल प्रयासपछि भने सदाको लागि लाउरे सपना त्यागे र पर्यटनतिर दत्तचित्त भएर लागे।

यहि दौरानमा होलेण्डको कम्पनीले वेभसाइटमार्फत उनलाइ सम्पर्क गरे। ‘ग्लोबल एक्सप्लोरेसन’ ले त्यहाँका हाईस्कुल सकेका विद्यार्थीलाई एक्सचेञ्ज प्रोग्रामको लागि प्रत्यके वर्ष नेपाल घुमाउन ल्याउँछन्। 

उनी नेपालको कन्ट्री डाइरेक्टरको रूपमा नियुक्ति भए। सन् २००९ देखि नेपालको लागि उनको कम्पनी एभरग्रीन टुर्स इन्टरनेशनले सहकार्य गर्छन। 

नेपालबाट पनि विद्यार्थी लिएर एकस्चेञ्ज प्रोग्राममा युरोप घुमाउन लान्छन्।

हाल विश्वभर दिगो पर्यटनको बहस चलिरहेको छ। दिगो पर्यटनले हाल र भविश्यको आर्थिक, सामाजिक र वातावरणीय प्रभावको लेखाजोखा राख्दै आगन्तुकको आवश्यकता, उधोग र होस्ट समुदायको सम्बोधन गर्दछ। 

युरोपतिर घुम्न जाने क्रममा सस्टेनेबल टुरिज्मबारे जानकारी र अनुभव बटुलेको गुरुङले बताए। यहि अवधारणामा रहेर थान्चोक, लुम्लेका आफ्नै ५ जना दाजभाईका २० रोपनीको सामुहिक जग्गामा निर्माण गरेको इको लज २०७४ मा सञ्चालनमा ल्याएको उनले बताए।

गुरुङले लज निर्माण गर्दा निकै सावधानी अपनाएका छन्। लज निर्माणमा स्थानीय सामाग्रीको अधिकतम प्रयोग गरेका छन्। काठले बनेका ३ वटा चिट्टिक्क परेका क्याबिन कटेज छ। पर्यावरणीय वातावरणको महत्वलाई विशेष ध्यानमा राखेर यसको डिजाईन, आन्तरिक सजावटदेखि रंगसमेत प्राकृतिक मैत्री बनाएका छन्। ट्वाइलेट पनि वाटरलेस छ। खानपिन स्वच्छ र अर्गानिक। निश्चित दूूरीमा जमिनभरी टेन्ट गाडिएका छन्। भित्री बाहिरी सजावट अति सुन्दर, आँखा मैत्री छन्।

उनले यो ठाउको नाम नेडरलेण्ड क्याम्प राखेका छन्। सन २०२० को सुरुतिर कोरोना महामारीको संक्रमण विश्वभर फैलियो। विभिन्न देशले संक्रमण रोकथामको लागि ट्राभलमा रोक लगाए। नेपालमा पनि चैतदेखि करिब ८ महिनाको बन्दाबन्दीले सम्पूूर्ण व्यापार व्यवासाय बन्द हुन पुग्यो।

 मुख्य पर्यटकीय सिजनको मुखमा नेपालको पर्यटन व्यवसाय पनि ठप्प भयो। फलस्वरुप लामोसमय काठमाडौंमै थुनिएर वस्न पर्यो। हिड्डुल र सम्पूूर्ण यातायात बन्द भएकोले कतै चहलपहल गर्न पाइएन। 

उता लुम्लेमा उनको लजमा लामो–लामो घास पलाएर जंगल बनिसकेको थियो। कहिले यातायात सहज होला कुरेर बसेका थिए। सरकारले लकडाउन केहि खकुलो बनायो, केहि सहज भएपछि उनी स–परिवार लुम्ले हानिए। लजको सरसफाई गरे र खोल्ने तयारीमा जुटे। लामोसमय बन्द भएको पर्यटकीय गतिविधि सरकारले खुकुलो गरेलगत्तै आन्तरिक पर्यटक कल्सी पुग्न थाले।

कोरोना महामारीको बन्दाबन्दीको कारण प्रायः ट्रेकिङ गन्तब्य सबै बन्द छ। तर, उनको लजमा भने प्रत्येक दिन पर्यटक आउन थालेका छन्। 

‘हाम्रो लजमा नियमित आन्तरिक पर्यटक आउँछन,’ उनले भने, ‘मानिसहरू लामो बन्दाबन्दीले वाक्कदिक्क भएकोले घुमफिर गर्नआतुर रहेछ।’  

नेपाली मात्रै नभएर विदेशीहरू पनि कल्सी आएका छन्। गत साता मात्रै अमेरिकी दूतावासका कर्मचारी कल्सी पुगे। २ दिन भनेर आएको ५ दिन बिताएर फर्के। यहाँका शान्त, एकान्त र प्राकृतिक वातावारणसित उनीहरू मोहित भए।

कोरोना महामारीको संक्रमणको जोखिमलाई ध्यान पुर्याउँदै सकेसम्म एउटा ग्रुप अर्कोसँग नजुध्ने गरी बुकिङ लिन्छन्, उनी। महामारीको कारणले नेपालीको आम्दानी घटेकाले स्वदेशी तथा स्थानीय पाहुनालाई लक्षित राख्दै विशेष डिस्काउन्ट प्याकेज ल्याएका छन्, उनले। 

क्याबिन बासको लागि शुक्रबार, शनिबार र आइतबार १८०० र सोमबार, मंगलबार, बुधबार र बिहीबार १५०० प्रतिब्यक्ति र प्रतिरात मूूल्य राखेका छन्। त्यस्तै टेन्टमा बासको लागि शुक्रबार, शनिबार र आइतबार १२०० र सोमबार, मंगलबार, बुधबार र बिहीबार १२०० प्रतिब्यक्ति र प्रति रात मूूल्य छन्। यो मूूल्यमा बेलुकाको डिनर र बिहान खाजासमेत समाबेश गरिएको छ।

संक्रमण जोखिम कम गर्न र गुणस्तर सेवा दिन सकियोस् भनेर निश्चित ग्रुप मात्रै बुकिङको व्यवस्था गरिएको उनले जानकारी गराए। त्यसैले यहाँ कल्सी घुम्न आउनेले २–४ दिन अगाडि नै सम्पर्क गर्नु सुझाएका छन्।

नेडरलेण्ड क्याम्पमा रात बिताएर अगाडिको यात्रा मर्दी हिमाल ट्रेकमा जान सकिन्छ। यो रुट पछ्याउदै प्रितम देउराली, फरेष्ट क्याम्प, लो–क्याम्प, बादल डाँडाहुँदै हाइ–क्याम्प र माथी मर्दि वेस क्याम्पसम्म पुग्न सकिन्छ। त्यस्तै कल्सीबाट सिधै फर्किदा अस्ट्रेलियन क्याम्प हुँदै काँडे भएर पोखरा निस्कन्छ या धम्पुसतिर निस्कन पनि सकिन्छ।

बिहानको ब्रेकफास्ट सकेरमित्र जितेन्द्र झाँक्री र जिग्मे भाई मर्दि हिमालको पदयात्रातिर लागे। चित्र दाई , पासाङ र म भने माथि डाँडामा उक्लेर छोटो बाटो सिधै लुम्लेतिर ओरालो लाग्यौ।

न्यानो आतिथ्य, स्वदिस्ट भोजन र आरामदायी कल्सी बसाइँको लागि धेरै धन्यवाद चित्र दाई र द्रौपदी भाउजु। पर्यटन विस्तारै पुनःसञ्चालन हुदैछ। 

यस महामारीमा सुरक्षित भई सचेत भएर घुम्न सकिन्छ तर मास्क लगाउन, स्यानिटाइजर प्रयोग गर्न र भौतिक दूूरीको पालना गर्न भुल्नु हुदैन। कोरोना महामारी र बन्दाबन्दले थकान मेटाउन र प्रकृतिसँग रमाउन चहानुहुन्छ? तपाईलाई पनि कल्सीले बोलाइरहेको छ। 

कसरी पुग्नेः  करिव २५ किमी बाग्लुङ–बेनी हाईबेमा लुम्ले। लुम्लेबाट ४५ मिनेट हाइकिङ गरेपछि कल्सी।

सम्पर्कः ९८५१०३८८७३

 
 

प्रकाशित मिति: : 2020-11-14 16:16:00

प्रतिकृया दिनुहोस्