वासिङ्टन डीसीमा ट्रम्प र बाइडन समर्थकबीच भिडन्त, दर्जनौ घाइते र पक्राउ

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

अमेरिकाको राजधानी वासिङ्टन डीसीमा ट्रम्प समर्थक विभिन्न मिलिसिया समूह र बाइडन समर्थक ब्ल्याक लिभ्स म्याटर्सबीच झडप भएको छ। ट्रम्प समर्थकले चुनाव चोरिएको आरोप लगाएर प्रदर्शन गरेका थिए भने बाइडन समर्थकले ट्रम्पले हारेर पनि हार अस्विकार गरेर अमेरिकाको धज्जी उडाएको भन्दै आक्रोश पोखेका थिए । 

परस्पर विरोधी प्रदर्शनकारीबीच झडपका क्रममा १० जना पक्राउ परेको बताइएको छ। तर, पक्राउ परेका कसका समर्थक हुन् ?, त्यसबारेमा भने केही बताइएको छैन।

परस्पर विरोधी प्रदर्शनकारीबीच झडप हुनबाट ठाउँठाउँमा जोगाए पनि केही ठाउँमा भने दुर्भाग्यपूर्ण झडप भएको प्रहरीले बताएको छ। 

झडपका लागि एक अर्कालाई आरोप लगाइएको छ। योजनावद्ध प्रदर्शन आयोजना गरेका ट्रम्प समर्थकले ब्ल्याक लिभ्स म्याटर्स समर्थकले त्यसको प्रतिरोध गरेकाले झडप भएको बताएका छन्। उनीहरूले आफूलाई अण्डाले हानेको र आफ्ना प्रचार सामग्री जलाइदिएको आरोप लगाएका छन्।

तर, ब्ल्याक लिभ्स म्याटर्स समर्थकले  ट्रम्प समर्थकले नै आफूमाथि आक्रमण गरेकाले त्यसको प्रतिरोध गरेको बताएका छन्। 

ट्रम्पले आफ्नो हार स्वीकार नगरेर आफ्ना समर्थकहरूलाई उत्तेजित बनाइरहेका छन्। तिनै उत्तेजक समर्थकहरू देशका विभिन्न ठाउँबाट राजधानी डीसीमा आइपुगेका हुन्। 

राष्ट्रपति ट्रम्पले प्रदर्शनकारीलाई मोटरबाटै हात हल्लाउँदै अभिवादन गरेका थिए। उनको यो समर्थनले प्रदर्शनकारीहरू थप उत्तेजित भएका थिए।

डीसी प्रहरीले आइतबार पनि झडपको सम्भावनालाई नकारेको छैन। शनिबार ट्रम्प समर्थकहरू योजनावद्ध आए पनि ब्लाक लिभ्स म्याटर्स समर्थक प्रदर्शनको योजनामा थिएनन्। आइतबार उनीहरू पनि योजनावद्ध रूपमा आए भने ठूलो भिडन्त हुन सक्ने आशंका गरिएको छ। 

प्रकाशित मिति: : 2020-11-15 07:50:00

प्रतिकृया दिनुहोस्