शान्तालाई १० वर्षदेखि रुवाउने त्यो तिहार, बेपत्ता पूर्व असईलाई नै खोज्दैन प्रहरी

लोकान्तर

काठमाडाै‌

रुपन्देहीको सैनामैना मुर्गियास्थित शान्ता कुँवरको घर शनिवार साँझ उजाड थियो । वरपर छरछिमेकी उत्साह र रमाइलाको साथ लक्ष्मी पूजाको तयारीमा जुटेका थिए । तर शान्ता भने घर बाहिर पिँढीमा बसेर गहभरि आँसु लिएर टोलाइरहेकी थिइन् ।

आजभन्दा १० वर्षअघि तिहारको लक्ष्मी पूजाकै दिन (२०६७ कात्तिक १९ गते) साथीले लगेको मोटरसाइलक लिन जान्छु भनेर साँझ निस्किएका उनका पति दिलिप कुँवर अझै घर फर्किएका छैनन् । आधा घण्टामै आउँछु भनेर नजिकैको बजार मुर्गियातिर निस्किएका पूर्व प्रहरी सहायक निरीक्षक (असई) समेत रहेका दिपिलको अहिलेसम्म कुनै अत्तोपत्तो छैन ।

हरेक वर्ष आउने तिहार र लक्ष्मी पूजाले शान्तालाई झनै पीडा दिन्छ । दिलिपलाई कसले डोहोर्‍याएर कहाँ लगेर अलप बनायो, शान्ताले अहिलेसम्म सुइँको समेत पाउन सकेकी छैनन् । पति एकाएक दृश्यबाट अलप भएपछि शान्ता कैयौं रात आँखाबाट धेरै आँसु बगाइरहिन् ।

‘मेरा श्रीमान् जब त्यो लक्ष्मी पूजाको रात घरबाट बाहिर निस्किसियो । त्यो दिन मेरो सारा संसार नै भताभुंग भयो । लक्ष्मी पूजासँगै मेरो जीवनसाथी कहाँ गइसियो वा पुर्‍याइयो अझैसम्म केही थाहा छैन,’ शान्ताले रुँदै भनिन् । एकैछिनमा आएपछि ‘सँगै लक्ष्मीपूजा गरौंला’ भनेर पर्खेर बसेकी शान्ताले अहिलेसम्म पनि पति कतैबाट आउँछन् कि भन्ने आश भने मारेकी छैनन् । तर हराएको १० वर्षसम्म पनि पति कहाँ छन्, कस्तो छन् भन्ने पत्ता नलाग्दा शान्ताको जीवन अहिले उदास र एक्लोपनबाट गुज्रिएको छ । 

प्रकाशित मिति: : 2020-11-15 15:04:00

प्रतिकृया दिनुहोस्