नेपालको अध्यागमनः कम्प्युटर छ, रेकर्ड छैन

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले पछिल्लो समय आफूले जति नै राम्रो काम गरेको दावी गरेपनि वास्तविकता ठ्याक्कै त्यसको उल्टो छ। 

दैनिक मजदुरी गरेर पेट पाल्ने नेपालीको कुरा एकछिनलाई बिर्सिदेऊ। कर तिर्ने नेपालीको हकमा पनि सरकारले खासै केही गरेको देखिदैन। अझ, कर्मचारीतन्त्रको मारमा सेवाग्राही नेपाली यसरी जकेडिएका छन्, यसको पछिल्लो उदाहरण बनेका छन्, कोश गुरूङ। 

गुरुङ ब्रिटिश गोर्खाली हुन्। उनी बेलायत आर्मीबाट अवकाश लिएयता विगत २ वर्षदेखि नेपालमा बसोबास गर्दै आइरहेका छन्। 

उनी दुई वर्षदेखि आफ्नो भिषाको म्याद थप्दै नेपालमा बसोबास गर्दै आएका थिए। बुधबार पुनः एक वर्षका लागि म्याद थप गर्न कालिकास्थानस्थित अध्यागमन विभाग पुगेका गुरूङ त्यतिबेला रनभूल्लमा परेँ, जब अध्यागमनका कर्मचारीले उनको पुरानो फाइल कम्प्युटरमा नभएको भन्दै दिनसम्म दुःख दिए। 

कहिले उनलाई अध्यागमन विभागको माथिल्लो तल्लामा दौड्याइयो, कहिले तल्लो तल्लामा। उनीहरूलाई गुरूङको फाइल हराएकोमा कुनै अफसोच थिएन। न आफूबाट भएको गल्तीको आत्मग्लानी।  

उनीहरू गुरूङलाई बिहान ११ बजेदेखि विभागको बिल्डिङको तल र माथि दौडाइरहेका थिए। मानौ उनी परेड खेल्नका लागि त्यहाँ उपस्थित भएका हुन्। गुरूङ प्रत्येक वर्ष अध्यागमन विभाग पुगेर म्याद थप गर्थे। गत वर्ष पनि उनले यही आएर म्याद थप गरेका थिए। तर, अहिले आफ्नो फाइल नभएको जानकारी अध्यागमनका कर्मचारीले दिएपछि उनी तीन छक्क परेँ। 

‘कति ठूलो लापरवाही। विगत दुई वर्षदेखि भिषाको म्याद थप्दै आएको छु। यसपालि मेरो कागज पत्र केही छैन भन्छन्,’ उनले बिएल नेपाली सेवासँग गुनासो पोखेँ–‘यो त लापरवाहीको हद भयो। यो कागजमा मेरो मात्र होइन, पूरा परिवारको भविस्य जोडिएको छ।’

स्याङ्जा स्थायी ठेगाना भएका गुरूङ हाल गल्फुटारमा बसोबास गर्छन। उनको परिवारका केही सदस्य लन्डनको हान्स्लोमा बस्दै आइरहेका छन्। ४९ वर्षीय गुरूङ कर्मचारीतन्त्रमा देखिएको कमजोरीको विषयमा भन्छन्, ‘केही सिस्टम नै छैन। जहिले यसरी नै चलाउने?’ 

भिषाको म्याद थप्न अध्यागमन विभागमा उनी मात्र होइन, अन्य ४–५ जना व्यक्ति पनि पुगेका थिए। उनीहरूको कागजपत्र पनि नभेटिएपछि बिहानदेखि दौडधुप गरिरहेका देखिन्थे।

‘लुगा मात्र चिटिक्क लगाएर के गर्नु? मानसिकता नै कमजोर भएपछि। यहाँका कर्मचारीलाई अरूलाई दुःख दिन पायो भने हाकिम भएजस्तो लाग्ने रहेछ,’ गुरूङ जस्तै अर्का सेवाग्राहीले बिएल नेपाली सेवासँग भने, ‘पहिले त उहाँहरूलाई आफूले गरिरहेको कामको महत्व के हो? यसको संवेदनशीलताको विषयमा पढाउनु पर्‍यो। आफूले काम गर्ने ठाउँको विषयमा अपडेट नहुने कर्मचारीले कसरी अरूलाई सुविधा दिन सक्ला।’

नेपालको अध्यागमन विभागमा अहिले मात्र यस्तो घटना भएको होइन। यसअघि पनि कर्मचारीबाट हुने ढिलासुस्तीका कारण सेवाग्राहीले विभिन्न मानसिक तनाव भोग्नु परेको छ।

प्रकाशित मिति: : 2020-11-18 15:18:00

प्रतिकृया दिनुहोस्