होबर्टका मुख्य प्रशिक्षक भन्छन्– सन्दीप विकेट टेकर हुन्, हाम्रो बलिङमा अर्को आयाम थप्छन्

बिएल संवाददाता

काठमाडाै‌ं

लेग स्पीनर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) को दशौँ संस्करण होबार्ट हुरिकेन्सबाट खेल्न भएका छन्।

यस अघिका दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका सन्दीपलाई टोलीले सम्झौता नविकरण नगरेपछि उनी होबार्टबाट खेल्न लागेका हुन्।

होबर्टका मुख्य प्रशिक्षक एडम ग्रिफ्टले सन्दीपलाई बिहीबार बिहान विदेशी खेलाडीको कोटामा अनुबन्धित गरेको जानकारी दिएका हुन्। 

गतवर्ष होबार्टबाट अफगानिस्तानका युवा लेगस्पिनर काइस अहमद खेलेका थिए।

अहमदले यस सिजनको बिग ब्यास लिग नखेल्ने भएपछि उनको स्थान सन्दीपले लिएका हुन्।

सन्दीपले लगातार तेस्रो पटक बीबीएल खेल्न लागेका हुन् र होबार्ट उनको दोस्रो टिम हो।

सन्दीपले पहिलो पटक सन् २०१८ मा मेलबर्न बाटै बिग ब्यास लिग खेलेका थिए।

उक्त वर्ष सन्दीपले ८ खेलमा ११ विकेट हात पारेका थिए।

गतवर्ष सन्दीपले मेलबर्न स्टार्सबाट १३ खेलमा १५ विकेट लिएका थिए। 

सन्दीपले दुई सिजन खेल्दा २० खेलमा २६ विकेट लिएका छन्।

होबर्टका मुख्य प्रशिक्षक ग्रिफ्टले सन्दीपको अगमनले टिमको बलिङ पक्ष थप बलियो भएको बताएका छन्।

‘सन्दीप खेल गेम चेन्जर हुन्। उनले इनिङ्सको कुनै पनि चरणमा बलिङ गर्न सक्छन्। उनी एक विकेट टेकर हुन् जसले हाम्रो बलिङमा अर्को आयाम थप्नेछ,’ उनले भनेका छन्।

बिग ब्यास आगमी डिसेम्बर १० देखि सुरु हुने छ। तर सन्दीपले बिग ब्यासको सुरुवाती खेल भने गुमाउने छन्।

उनी नेपालबाट बिग ब्यास लिग खेल्ने डिसेम्बर दोस्रो साता अष्ट्रेलियातर्फ जानेछन्।

अष्ट्रेलिया सरकारको कोरोना नियम अनुसार दुई हप्ता क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने हुन्छ।

बिबिएलको पहिलो खेलमा होबार्टले सिड्नी सिक्सर्ससँग खेल्ने छ।

डिसेम्बरमा होबार्टले कुल ६ खेल खेल्ने छ।

सन्दीपले कम्तिमा चार खेल गुमाउने छन्।

यस सिजनमा हरेक टिमले ३ खेलाडीलाई प्लेईङ सेटमा राख्न पाउने छन्।

यसअघि बीबीएलमा २ विदेशी खेलाडी मात्र राख्न पाइने नियम रहेको थियो।

यसपटक मेलबर्नले सन्दीपको स्थानमा अफगानिस्तानका स्पिनर जाहिर खानलाई टोलीमा अनुबन्ध गरेको छ।

मेलबर्नले वेस्टइन्डिजका निकोलस पुरन र इंग्ल्यान्डका जोनी बेयरस्टोसँग पनि सम्झौता गरेको छ।

यता सन्दीपसँगै टी २० का नम्बर वान ब्याट्सम्यान डेविड मालानले पनि होबार्टबाट खेल्नेछन्।

यस्तै वेष्ट ईन्डिजका अलराउण्डर किमो पउल पनि होबार्टमा अनुबन्धित भएका छन्।

यसका साथै होबार्टले दक्षिण अफ्रिका कोलिन इनग्राम र इंग्ल्यान्डका विल ज्याक्स पनि भित्र्याएको छ।

म्याथ्यु वेड, पिटर ह्यान्ड्सकम्ब र डार्सी सट जस्ता चर्चित खेलाडी पनि होबार्टबाट खेल्ने छन्।

यता सिंगापुरमा युवा ब्याट्सम्यान टिम डेभिड पनि होबार्टबाट खेल्ने छन्। 

प्रकाशित मिति: : 2020-11-19 08:39:00

प्रतिकृया दिनुहोस्