प्रचण्डसँगकाे भेटपछि नेम्वाङले भने– अन्तिमसम्ममा सहमति जुट्ने छ

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टीभित्रको विवाद गम्भीर भएपनि सहमति जुट्ने दावी गरेका छन्।

केन्द्रीय मुख्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै नेम्वाङले अन्तिमसम्ममा सहमति जुट्ने दावी गरेका हुन्। 

‘अध्यक्ष प्रचण्डसँगको भेट सकारात्मक भयो, उहाँले पार्टी एकताको डोरी नचुँडिएको र आफू एकता जोगाउन तयार रहेको बताउनु भयो,’ उनले भने। 

गत कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले एकतर्फी रूपमा प्रतिवेदन ल्याएको भन्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली आक्रोशित बनेका छन्।

प्रधानमन्त्री ओलीले मंसिर ३ गते बसेको बैठकमा प्रचण्डविरूद्ध आक्रोशसमेत पोखेका थिए। प्रधानमन्त्री ओलीले प्रचण्डको जवाफी प्रतिवेदनका लागि मंसिर १३ सम्मको समय मागेका छन्।

यता नेता नेम्वाङले पार्टीलाई एकजुट र एकढिक्का बनाएर लैजान प्रधानमन्त्री ओलीसमेत प्रतिबद्ध रहेको बताए। उनले भदौ २६ को स्थायी कमिटी बैठकको निर्णयकै जगमा दुवै अध्यक्ष उभिनुपर्ने बताए।

पार्टी विवाद उत्कर्षमा पुगेको बेला प्रचण्डले शुक्रवार नै महासचिव विष्णु पौडेलसँग धुम्बाराहीमा छुट्टै छलफल गरेका थिए। 

प्रचण्डसँग भेटपछि पौडेलले परिस्थिती धेरै गम्भीर रहेको बताएका थिए। ‘परिस्थिती धेरै गम्भीर छ,’ उनले भनेका छन्।

तर नेम्वाङले संसदीय र स्थानीय निर्वाचन नजिक आइरहेको, र विभाजित भएर जनतासम्म जान नसकिने बताए।

बुधवार बसेको नेकपा सचिवालय बैठकमा अध्यक्ष ओलीले मंसिर १३ गते बस्ने सचिवालय बैठकमा प्रचण्डको पत्रको जवाफ दिने बताएका छन्। १३ गते अगावै सहमति गर्नको लागि धुम्बाराहीमा उपप्रधानमन्त्री ईश्वर पोखरेल पनि पुगेका छन्। उनले पार्टीका अन्य नेताहरुसँग छुट्टै छलफल गरिरहेका छन्।

प्रकाशित मिति: : 2020-11-20 15:01:00

प्रतिकृया दिनुहोस्