इन्टर्भलसम्म पनि नबाँची बिदा हुने प्याराे साथीकाे नाममा

शिलापत्र

काठमाडौँ
तस्बिर : शिलापत्र

  बसन्त बस्नेत

असामान्य रूपमा सामान्य थिए गोकर्ण गौतम । यो नै उनको परिचय थियो ।

तर उनको आँखा तीक्ष्ण । आम पत्रकारले औसत ठानिरहेको दृश्यमा उनी सम्भावित रिपोर्टिङको विषयवस्तु देखिरहेका हुन्थे । नेपाल म्यागजिनमा छँदा उनले गरेको कैलाशकुट दरबारको रिपोर्ट एउटा मानक हो, जो ४ लाखभन्दा बढीले फेसबुकमा मात्रै शेयर गरेका थिए ।

नेपालमा कुनै अफबिट र मन छुने कभर स्टोरी छापियाे भने त्यसमा गाेकर्ण गौतमको बाइलाइन हुने सम्भावना शतप्रतिशतजस्तै हुन्थ्यो ।

र्‍यापर भिटेनलाई पुलिसले पहिलोपल्ट समातेसँगै अभिव्यक्ति स्वतन्त्रता र अराजकताबीचको भेदलाई लिएर बौद्धिकवृत्त विभाजित भएको थियो । न्युजरुममा त्यसको प्रतिविम्ब भेटिनु स्वाभाविक थियो । नेपाल म्यागजिनको सम्पादकका रूपमा मैले यो घटनालाई जुन कोणबाट सोचिरहेको थिएँ, गोकर्ण त्यसमा अझै प्रष्ट थिए । उनले तुरुन्तै भिटेनसम्बन्धी रिपोर्ट गरे । पुलिसले अनधिकृत विषयमा हात हालेर गरेको गल्तीबारे उनले खुलेर लेखे । हामीले त्यसलाई प्रमुखतासाथ छाप्यौँ ।  उनले फलाेअप लेखिरहे । 

निर्मला पन्तको बलात्कारपछि हत्या भए पनि सुरुमा त्यो सामसुम नै थियो । सुरुवाती चरणमै ग्राउन्ड जिरोमा पुगेर रिपोर्ट गर्ने पत्रकार थिए गोकर्ण । कन्चनपुरस्थित निर्मलाको परिवार, आफन्त, प्रहरी, राजनीतिक शक्तिमा रहेका एक–एकसँग भेटेर उनले स्टोरी लेखे । उनैको रिपोर्टिङसमेतको बलमा नेपाल म्यागजिनले वर्षव्यक्ति २०७५ घोषणा गर्‍याे- निर्मला पन्तकी आमा दुर्गादेवीलाई ।

पोस्टमोडर्न गीतहरू गाएर नेपाली संगीतमा छोटो समयमै सुनाम कमाएका सुगम पोखरेलबारे जीवनी लेख्दै थिए गोकर्ण । उत्साहित हुँदै हाम्रा अमेरिकानो गफहरूमा उनले सुनाएका थिए, ‘मेरो सबै मेहनत परेको छ यो किताबमा ।’ अब बुकहिलका प्रकाशक भूपेन्द्र खड्काले मात्रै भन्न सक्लान्, यो अपूरो किताबको प्रगतिबारे ।

प्रकाशित मिति: : 2020-11-20 16:54:00

प्रतिकृया दिनुहोस्