‘हेपिएको बाली’ लट्टेका स्वास्थ्य सम्बन्धी यतिधेरै फाइदै–फाइदा

लोकान्तर

काठमाडाैं

लट्टे हाम्रो गाउँघरमा पाइने एक प्रकारको पुरानो बाली हो । पुरानो बाली भएका कारण यो लोप हुने स्थितिमा पनि छ ।

लट्टेको महत्त्व नबुझ्दा यसको प्रयोग पनि निकै कम भएको पाइन्छ । महाभारत हिमशृंखलादेखि मध्य तथा दक्षिण अमेरिकी देशमा लट्टेको खेती परापूर्वकालदेखि नै हुँदै आएको पाइन्छ । 

नेपालमा यसको नाम ठाउँ अनुसार फरक–फरक छ । तराईमा रामदाना, पहाडमा लट्टे वा लुडे, उच्च पहाडी तथा कर्णाली प्रदेशतिर मार्से, सुदूरपश्चितिर दार्चुला, बैतडीतिर बेथ, बेथे वा चौलाई भनेर चिनिन्छ ।

व्यावसायिक खेती नहुने हुँदा लट्टेको खोज तथा अनुसन्धान पनि खासै भएको पाइन्न । रातो लट्टेलाई नेपालमा उच्चकोटीको मानिन्छ । लट्टे एक बहुउपयोगी बाली मानिन्छ र यसको प्रयोग ठाउँ अनुसार फरक–फरक रूपमा गरिन्छ । यसको हरियो साग पनि निकै स्वादिलो सब्जीको रूपमा प्रयोग गर्न सकिन्छ भने गेडालाई भुटेर वा लड्डु बनाएर पनि खान सकिन्छ ।

उच्च पहाडी जिल्लामा यसलाई प्रमुख खाद्यान्नको रूपमा लिइन्छ ।  पहाडी जिल्लामा यसको साग निकै मन पराएर विभिन्न तरिकाले परिकार बनाएर खाइन्छ । अन्य सागजस्तो प्रचलन या प्राथमिकतामा नपरेपनि सागमा पनि खनिज तत्व प्रशस्त पाइने हुँदा निकै फाइदा छ ।

लट्टेलाई अन्य बालीजस्तै छुट्टै जमिनमा नलगाई बारीको छेउ छेउ वा रुखो ठाउँमा लगाइदिने चलन छ । स्वास्थ्य सम्बन्धी प्रचुर फाइदा हुँदाहुँदै पनि यो एक हेपिएको अन्नजस्तो लाग्न सक्छ । सबैतिर लट्टेलाई एक प्रमुख बालीका रूपमा प्रयोग नहुने हुँदा यसको व्यावसायिकता खासै हुँदैन । तर पछिल्लो समय यसको महत्त्व बुझ्न थालेपछि यसको प्रयोग र खेती व्यापक हुन थालेको देखिन्छ ।

‘ग्लुटिन फ्री’ अन्नको रूपमा लिइने हुँदा लट्टेका परिकार होटल तथा रेस्टुरेन्टमा पनि राख्न थालिएको छ । नेपालमा ठाउँ अनुसार यसको बाली फरक–फरक समयमा हुन्छ । लट्टेलाई कुनै बालीको छेउमा लगाउँदा त्यो बालीमा कुनै नराम्रो नजर नलाग्ने परम्परा पनि छ । महिनावारी वा सुत्केरी भएका बखत यो बालीको रोटी वा भुटेर खानाले फाइदा पुग्ने जनविवश्वास पनि छ । नेपालमा लट्टेको अनुसन्धान धेरै कम भएका कारण यसका जाति कति छन् भन्ने यकिन स्थिति छैन । केही प्रारम्भिक अनुसन्धानकर्ताका अनुसार नेपालमा यसका ४ जाति छन् भनेर भनिएको छ । लट्टेलाई कति ठाउँमा झार भनेर फाल्ने पनि गरिन्छ । भारतमा लट्टेलाई अमरनाथ भनेर पनि चिनिन्छ ।

प्रकाशित मिति: : 2020-11-21 11:19:00

प्रतिकृया दिनुहोस्