‘राब्ता’ फिल्ममा सुशान्तले प्राप्त गरेको १७ करोड रुपैयाँको विषयमा आशंका

सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा उनको बैंक खाताको छानवीन गरिरहेको प्रवर्तन निदेशालय (इडी) ले गैरकानुनी रूपमा करोडौं रूपैयाँको लेनदेन भएको तथ्य प्राप्त गरेको छ। 

भारतबाट प्रकाशित हुने एक न्युज पोर्टलका अनुसार सन् २०१७ मा रिलिज ‘राब्ता’ फिल्ममा भएको १७ करोड रुपैयाँको लेनदेनप्रति इडीले शंका जनाएको छ। यो फिल्मको निर्माता–निर्देशक दिनेश विजान थिए। उनीसँग इडीले धेरै अगाडि सोधपुछ गरेको थियो। उनी हाल दुबईमा छन्। 

इन्डिया टुडेले आफ्नो रिपोर्टमा श्रोत उल्लेख गर्दै गत महिना विजानसँग इडीले सोधपुछ गरेको बताएको छ। यस क्रममा विजानले विदेशमा भएको लेनदेनको कागजपत्र उपलब्ध गराउन सकेका थिएनन्।

 रिपोर्टअनुसार विदेशमा हुने सुटिङमा निर्मातालाई केही रकम विदेशमा खर्च गर्ने सुविधा हुन्छ। यसमा जुन देशमा सुटिङ भएको हुन्छ, त्यो देशमा सुटिङमा हुने खर्चको बजेटअनुसार २० प्रतिशतसम्म रकम खर्च गर्ने सुविधा प्राप्त हुन्छ। यसलाई ‘ओभरसीज पर्क’ पनि भनिन्छ। 

इडीले शंका गरेको छ, निर्माताहरू विदेशी सरकार, विशेष गरेर युरोपेली देशमा खर्चको व्यहोरा बढाएर देखाउने गर्छन। यो गर्नुको कारण, बढीभन्दा बढी रकम लिन सकियोस् र यसैबाट कलाकारको पारिश्रमिक पनि भुक्तान होस् भन्ने उद्देश्य रहेको इडीको आशंका छ। 

इडीले बैदेशिक मुद्रा अपचलनमा फिल्म निर्माताको ठूलो हात हुने आशंका पनि गरेको छ। 

दिनेश विजानले फिल्म निर्माणसम्बन्धि कागजपत्र इडीलाई उपलब्ध गराउन नसकेपछि उनको घरमा छापा हानिएको थियो। यही छापामा फिल्मको बजेट सम्बन्धि दस्तावेज प्राप्त भएको समाचार एजेन्सीले पुष्टी गरेका छन्। ‘राब्ता’ फिल्मको बजेट ५० करोड रुपैयाँ थियो, जसमा १७ करोड सुशान्तलाई उपलब्ध गराएको तथ्य कागजपत्रमा स्पस्ट देखिन्छ। 

१४ जुनमा सुशान्तको निधन उनको मुम्बईस्थित फ्लाटमा भएपछि उनको निधनलाई लिएर सीबीआईले छानवीन गरिरहेको छ। पहिले उनले आत्महत्या गरेको समाचार सार्वजनिक भएको थियो। तर, अहिले सीबीआईले हत्याको दृष्टिकोणबाट छानवीन गरिरहेको छ। 

सुशान्तको बैंक खातालाई लिएर प्रश्न उठेपछि उनको निधन भएको डेढ महिनामा इडीले छानवीन सुरु गरेको हो। सुशान्तका बुवा केके सिंहले सुशान्तको बैंक खाताबाट रहस्यमय ढंगले १५ करोड रुपैयाँ निकालिएको आरोप लगाएका थिए।

प्रकाशित मिति: : 2020-11-22 11:10:00

प्रतिकृया दिनुहोस्