करण जौहरका सहयोगी ५० हजार धरौटीमा जेलमुक्त

धर्मा प्रोडक्सनका पूर्व कार्यकारी निर्देशक क्षितिज रवी प्रसाद बिहीबार ५० हजार धरौटीमा जेलबाट बाहिर निस्किएका छन्। 

उनलाई १६ सेप्टेम्बरमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले पक्राउ गरेको थियो। 

बलिउडका चर्चित निर्देशक करण जौहरको सहयोगीको रूपमा काम गरेका क्षितिजलाई ड्रग्स मुद्धामा एनसीबीले पक्राउ गरेको थियो। 

उनी एनसीबीको हिरासतमा थिए। 

अदालतले बिहीबार उनलाई प्रहरी चौकीमा पासपोर्ट जम्मा गर्न पनि आदेश दिएको छ। उनी व्यक्तिगत मुचुल्कामा छुटेका हुन्। 

क्षितिज प्रसादसँग अगिसियालोस डेमेट्रियडेस पनि पक्राउ परेका थिए। दुबैलाई नाइजेरियाको ड्रग्स सिन्डिकेटसँग जोडिएको एउटा मुद्धामा पक्राउ गरिएको थियो। 

अगिसियालोस अभिनेता अर्जुन रामपालकी प्रेमिका ग्याब्रियला डेमेट्रियडेसका भाई हुन्। एनसीबीले क्षितिजको घरमा छापा पनि हानेको थियो। 

उनको घरबाट ड्रग्सको केही मात्रा प्राप्त भएको भारतीय अखबारले बताएका थिए।

प्रकाशित मिति: : 2020-11-26 20:36:00

प्रतिकृया दिनुहोस्