भाइजरमा उजेलिएका सुन्दरीहरू

बुढानिलकण्ठस्थित पार्क भिलेजमा २१ युवती यतिबेला निकै व्यस्त देखिन्छन्। हरेक दिन अनुहारमा भाइजर लगाएर ‘गेस्ट’ को अगाडि उभिनु उनीहरूको बाध्यता हो। कोरोनाको महामारीका बीच झोलामा सेनिटाइजर बोक्नु अन्यथा हुने कुरा भएन। 

तर, बाध्यताका बीच भाइजरले आफ्नो अनुहार छोपेका उनीहरू मुस्कान दिन भने छोड्दैनन्। यी युवती हुन्, २६ औं संस्करणको ‘मिस नेपाल–२०२०’ का प्रतिस्पर्धी। जो दुई साताअघि पीसीआर परीक्षण गरेर एउटा निश्चित अभियानका लागि जुटेका छन्। 

‘मिस वर्ल्ड’ स्पर्धा सन् २०२१ मा आयोजना हुदैछ। यसै वर्ष आयोजना हुने भनिएको ७० औं संस्करणको ‘मिस वर्ल्ड’ स्पर्धा कोरोना महामारीका कारण स्थगित भएको थियो। हाल नेपाली सुन्दरीहरू प्रतिकूल अवस्थामा पनि ‘मिस वर्ल्ड’ स्पर्धामा सहभागिता जनाउन नेपाल सरकारको सम्पूर्ण स्वास्थ्य मापदण्ड पुरा गरेर ‘मिस नेपाल’ प्रतियोगिताका लागि तयारी गरिरहेका छन्। 

दिवाकर राजकर्णिकार, अध्यक्ष हिडन ट्रेजर


‘मिस नेपाल–२०२०’ बाट छनोट हुने सुन्दरीले ‘मिस वर्ल्ड’ मा सहभागी हुन पाउने नियम छ। यसका लागि आयोजक हिडन ट्रेजर निकै संवेदनशील छ। 

हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार भन्छन्, ‘कोरोनालाई लिएर हामी निकै संवेदनशील छौं। त्यसैले सरकारको सबै सुरक्षा नियमलाई कडाईंका साथ लागु गरेका छौं।’

कोरोनाकै कारण प्रतिस्पर्धीलाई एकै ठाउँमा राखेर ३५–४० वटासम्म विभिन्न विधामा प्रशिक्षण दिइरहेको उनको भनाई छ। आइतबार र सोमबार बिएलकर्मी पार्क भिलेज पुग्दा नाथमका प्रमुख प्रशिक्षक मनराजा खत्री नेपाली सुन्दरीहरूलाई ‘डाइनिङ एटिकेट’ बारे जानकारी दिइरहेका थिए। 

‘विदेशमा सुन्दरी प्रतियोगितामा भाग लिन जाँदा प्रतिस्पर्धीले विभिन्न होटल तथा आउटलेटमा थरीथरीका खाना खानुपर्ने हुन्छ। यसका लागि प्रतिस्पर्धीले टेबलमा कसरी बस्ने, चम्चा कसरी पकड्ने र खाना कसरी खाने भन्ने शिष्टाचार सिक्नु अनिवार्य मानिन्छ। यसले प्रतिस्पर्धीको व्यक्तित्व पनि झल्किने गर्छ,’ उनी भन्छन्।   

 मनराजा खत्री, नाथमका प्रमुख प्रशिक्षक


अन्तिम छनोटमा परेका नेपाली प्रतिस्पर्धीलाई लिडरशीप तालिम, महिला सशक्तिकरणसम्बन्धि तालिम, पर्यटनसम्बन्धि तालिम तथा विभिन्न विधाको तालिम भच्र्युअलमार्फत दिइएको थियो। अध्यक्ष राजकर्णिकार गत आइतबार अर्थात नोभेम्बर २२ देखि पार्क भिलेजमा क्लोज क्याम्प राखेको बताउँछन्। 

‘हामीले सबैको पीसीआर गरेका छौं। यसको रिपोर्ट आएपछि मात्र क्लोज क्याम्पमा राखिएको हो,’ उनले बिएल नेपाली सेवासँग भने। 
अहिले पार्क भिलेजमा रहेका प्रतिस्पर्धीलाई स्टेजमा कसरी हिँड्ने, क्यामरा कसरी फेस गर्ने, अन्तर्वार्तामा कसरी बोल्ने तथा उभिने, यी सबैको सैद्धान्तिक तथा व्यवहारीक तालिम दिने काम भइरहेको छ। 

‘यसबाहेक पनि हरेक साँझ १० वटा सब–टाइटलमा रिहर्सल र तालिम भइरहेको छ,’ उनले बताए। यस वर्षदेखि पहिलोचोटी नेपाल पर्यटन बोर्डको सहकार्यमा ‘मिस टुरिजम’ विधा पनि थपिएको छ। यसले आन्तरिक तथा बाह्य पर्यटन प्रचारमा योगदान पु¥याउने राजकर्णिकारको दावी छ। 
यसबाहेक मिस पर्सनालिटी, मिस हेल्दी, ब्युटी विथ पर्पोजलगायत १० महत्वपूर्ण प्रतिस्पर्धा रहेका छन्। ‘मिस नेपाल–२०२०’ को अन्तिम चारमा समावेश हुने सुन्दरीहरूले नेपालको झण्डा बोकेर अन्तर्राष्ट्रिय मञ्चमा उभिने मौका पाउने छन्। 

‘मिस नेपाल’ प्रतियोगिताले समाज र देशको लागि ‘रोल–मोडल’ उत्पादन गर्दै आइरहेको छ। प्रतियोगितामा सहभागी हुने सुन्दरीहरूले स्वास्थ्य, शिक्षा तथा महिला सशक्तिकरण जस्ता थुप्रै क्षेत्रमा प्रभावकारी काम गर्दै आइरहेका छन्। 
       
कोरोनाको महामारीका बीच पनि आयोजक हिडन ट्रेजरले यसपालि पोखरा, चितवन र भैरहवालगायत आठ सहरमा अडिसन गरेको थियो। ‘मिस नेपाल–२०२०’ को ग्राण्ड फिनाले मंसिर २० मा होटल पार्क भिलेज मै हुदैछ। कोरोनाका कारण यसपालि प्रतियोगिताको खासै प्रचार–प्रसार गरिएको छैन। 

यसपालि प्रतिस्पर्धामा देशभरीबाट १ सय ५० युवती छानिएर आएका थिए।

प्रकाशित मिति: : 2020-11-30 21:25:00

प्रतिकृया दिनुहोस्