दुई अध्यक्षबीचको विवाद समाधानका लागि उपप्रधानमन्त्रीकाे सक्रियता

दुई पार्टी अध्यक्षबीच चुलिएको विवाद समाधानका लागि सत्तारुढ नेपाल कम्यनिष्ट पार्टीका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले सक्रियता देखाएका छन्। 

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटे लगत्तै उपप्रधानमन्त्री  पोखरेल शुक्रबार बिहान खुमलटार पुगेका थिए।

प्रचण्डसँग भएको भेटमा उपप्रधानमन्त्री पोखरेलले हाल सचिवालमा विचाराधीन रहेका दुबै अध्यक्षका राजनीतिक प्रस्ताव स्थगित गरि दुबै अध्यक्षकाे सहमतिमा साझा प्रस्ताव ल्याउन आग्रह गरेको स्रोतको दावी छ। 

प्रचण्डसँगको भेटपछि उनी राष्ट्रपति निवास पुगेका छन्।

कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले राजनीतिक प्रस्ताव पेश गरेका थिए। 

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले मंसिर १३ गते प्रचण्डको प्रस्तावको जवाफ दिएका थिए।

प्रचण्डसहितका बहुमत सचिवालय सदस्यहरू दुबै प्रतिवेदनमाथि छलफल गर्नुपर्ने अडानमा छन्।

प्रधानमन्त्री ओली पक्षधरले भने दुबै प्रतिवेदन फिर्ता गरेर साझा प्रस्ताव ल्याउन प्रयास गरिरहेका छन्।

यसअघि हिजो महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डसँग छुट्टाछुट्टै छलफल गरेका थिए।

प्रकाशित मिति: : 2020-12-04 13:12:00

प्रतिकृया दिनुहोस्