मिक्लाजुङ शिक्षक हत्या : घटनास्थलमा प्रहरी अझै पुग्न सकेन

मोरङको मिक्लाजुङ गाउँपालिका १ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगदबार बिहान हत्या भएको स्थलमा अहिलेसम्म प्रहरी पुग्न सकेको छैन।  

आज बिहान साढे ६ बजेतिर छ जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले शिक्षकलाई घरबाट उठाएर जंगल लगेका थिए।

उनको जंगलमा कपडाले छोपेको अवस्थामा शव भेटिएको मृतकका आफन्त मदन श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार अहिलेसम्म प्रहरी घटनास्थलमा आइसकेको छैन। शव जंगलमै रहेको छ। 

इप्रका उर्लाबारी र जिप्रका मोरङबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको छ। घटनास्थल विकट क्षेत्र रहेकाले समय लागेको हो।

सुराकीको आरोपमा शिक्षकको हत्या

प्रहरीका अनुसार ति शिक्षकको हत्या भएको प्रारम्भिक सूचना आएको छ।

‘विप्लव समूहका कार्यकर्ताहरुले सुराकीको आरोपमा श्रेष्ठको हत्या गरेको सूचना आएको छ,’ प्रहरी उच्च स्रोतले भन्यो।

५४ वर्षीय श्रेष्ठलाई घरबाटै उठाएर करिब एक किलोमिटर पर पुर्‍याइएर टाउकोमा गोली हानेर विप्लव समूहले हत्या गरेको प्रहरीले जनाएको छ।

शिक्षक श्रेष्ठको घर नजिकै रहेको स्थानबाट दशैंमा प्रहरीले विप्लव समूहका दुईजना नेतालाई हतियारसहित पक्राउ गरेको थियो।

प्रहरी स्रोतका अनुसार मिक्लाजुङ विप्लव समूहको सैन्य अभ्यास गर्ने क्षेत्र हो। 

पाँचथर, इलाम धनकुटा र मोरङको सीमावर्ती क्षेत्र मिक्लाजुङमा विप्लव समूहले सैन्य अभ्यास हुँदै गएको जानकारीका आधारमा गत कात्तिक १२ गते मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काको नेतृत्वमा प्रहरी टोली परिचालन भएको थियो। तर, विकट क्षेत्रमा मोबाइल नेटवर्कले काम नगर्दा विप्लव समूहका कार्यकर्ता भागेका थिए।

स्थानीयको घरमा लुकेका दुई जना पक्राउ परेका थिए। इलामको चुलाचुली गाउँपालिका ६ का १८ वर्षीय सनम भनिने विज्ञान राई र सप्तरी सुरुङ्गा नगरपालिका २ का ३२ वर्षीय प्रतिक भनिने काशिनाथ घिमिरेलाई हतियारसहित पक्राउ परेको थियो।

प्रहरीका अनुसार घिमिरे नेकपाको पूर्वी कमाण्ड मेची–कोशी ब्यूरो चौथो कम्पनीका कमिसार हुन्। उनी सप्तरी जिल्लाका पूर्वसेक्रेटरी पनि हुन्। यसैगरी विज्ञान राई पार्टीको साधारण सदस्य हुन्।

गत मंसिर ८ गते पनि मिक्लाजुङबाट बन्दोबस्तीका समान खरिद गर्न उर्लाबारी आएका विप्लव समूहका सेक्सन कमाण्डर ताप्लेजुङका ३२ वर्षीय पेम्बा साङ्गे शेर्मा पक्राउ परेका थिए। 

उनको साथबाट पेस्तोल र विप्लव समूहका कार्यकर्ताका लागि खरिद गरेको ज्याकेट बरामद गरेको थियो।

प्रकाशित मिति: : 2020-12-08 13:24:00

प्रतिकृया दिनुहोस्