नेपाल वायुसेवा निगमले आगामी १० वर्षभित्र १२ वटा नयाँ जहाज थप्ने

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल वायुसेवा निगमले आगामी १० वर्षभित्र १२ वटा नयाँ जहाज थप गर्ने भएको छ। 

निगम सञ्चालक समितिको गत मंगलबार बसेको बैठकले १० वर्षे व्यवसायिक योजना ९सन् २०२१-२०३० पास गरेको हो।

सञ्चालक समिति सदस्य अच्युत पहाडीका अनुसार १० वर्षको अवधिमा निगमले अन्तर्राष्ट्रिय उडानमा ६ र आन्तरिक उडानमा ६ वटा जहाज थप गर्ने भएको हो।

यसरी थप हुने जहाजमध्ये अन्तर्राष्ट्रियतर्फ ४ वटा न्यारोबडी जहाज र २ वटा वाइडबडी जहाज थप गरिने छ। यससँगै अन्तर्राष्ट्रिय उडानमा १० वर्ष भित्र निगमसँग कुल १० वटा जहाज हुनेछन्।

आगामी १० वर्षभित्र थप एक दर्जन अन्तर्राष्ट्रिय गन्तब्यमा नेपाल एयरलाइन्सका जहाज पुग्ने लक्ष्य राखिएको छ। यसमा चीन, दक्षिण कोरिया, साउदी अरेबिया, इन्डोनेसिया, अष्ट्रेलिया, लण्डनदेखि जर्मनीसम्म नेपाल एयरलाइन्सको उडान गर्ने गरी रुट तय गर्ने व्यवसायिक कार्ययोजनामा उल्लेख छ।

ती रुटमा नेपाल एयरलाइन्सको सेवा बिस्तारका लागि जहाज आवश्यक हुने भएकाले जहाज थप गर्ने योजना बनेको हो।  

यता, आन्तरिकतर्फ भने निगमले सुगम भेगमा उडाउन कुल २ वटा ठूला जहाज थप गर्ने भएको छ। छोटो धावनमार्ग भएका आन्तरिक विमानस्थलमा उठाउने गरी निगमले ४ वटा जहाज किन्ने गरी व्यवसायिक योजना बनाएको छ।

अहिले निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि चार वटा मात्र जहाज छन्।

निगमले अन्तर्राष्ट्रिय उडानमा सन् २०२३भित्रै एक वाइडबडी र दुई न्यारोवडी जहाज किन्ने योजना बनाएको छ। यस अवधिमा आन्तरिक उडानमा एक ठूलो र दुई सानो जहाज थप गरिने छ।

आन्तरिक उडानमा निगमले काठमाडौंबाहिर पोखरा, विराटनगर, नेपालगन्ज र सुर्खेतलाई आधार बनाएर उडान गर्ने लक्ष्य राखेको छ।

प्रकाशित मिति: : 2020-12-10 13:27:00

प्रतिकृया दिनुहोस्