मधेशमा बढ्यो जाडो, स्थानीय सरकार उदासिन

आजबाट भित्री तराई–मधेशमा एक्कासी जाडो बढेको छ। केही दिनयता तराई–मधेशमा सितलहर बढे पनि स्थानीय सरकार भने मौन देखिन्छ। हरेक वर्ष तराई–मधेशमा जाडोका कारण स्थानीय जनताको निधन हुने गरेको छ। 

सिरहा, भालुवाही निवासी बरिष्ठ पत्रकार चन्द्रदेव कामतीले बिएल नेपाली सेवासँग भने, ‘सितलहर त थियो। आजबाट जाडो दोब्बर बढेको छ। तर, जाडोबाट बच्ने तयारी कसैले गरेको पाइदैन।’ 

यहाँ सितलहर २४ गतेबाट सुरु भएको थियो। तर, अहिलेसम्म सिरहाका १७ वटा स्थानीय तहले सितलहरको पूर्व तयारी तथा प्रतिकार्य योजना बनाएको देखदैन। प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंडेल को नेतृत्वमा रहेको विपत् व्यवस्थापन समिती गत १९ गते सबै स्थानीय निकायलाई यसतर्फ सचेत गराउँदै तयारीको निर्देशन दिएको थियो। 

सिरहा विपत् व्यवस्थापन समितीका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी भन्छन्, सबै स्थानीय तह र सबै वडालाई सितलहर र जाडोबाट प्रभावित हुनसक्ने वर्ग र व्यक्तिको पहिचान गरि तथ्यांक उपलब्ध गराउन निर्देशन दिएको थियो तर कसैले पनि उपलब्ध गराएनन्।

यसले पुष्टि गर्छ, सितलहर र जाडोको व्यवस्थापन गर्न स्थानीय तहले कुनै चासो दिएका छैनन् भन्ने यथार्थ। 

तर, यसका बाबजुद सखुवा ननकारकटी गाउँपालिका प्रमुख केदार यादव आफ्नो गाउँपालिकाले यसबारे गाउँवासीलाई सचेत गराउँदै सितलहर र जाडोबाट बचौँ, न्यानो लुगा लगाउँ अभियान चलाएको छ। यादवले यस विषयमा जानकारी दिँदै भने, ‘जाडो प्रतिकार गर्न असमर्थ समुदायको पहिचान गरि उनीहरू लक्षित कार्यक्रम चलाउँदै छौँ।’

यता प्रमुख जिल्ला अधिकारी प्रदिप कणेँल, नेपाल प्रहरीका एसपी उमाप्रसाद पञ्जियार, सशस्त्र प्रहरीका एसपी दीपेन्द्र गिरीको समूहले भोलिदेखि सिरहामा हुनेले नहुनेलाई न्यानो कपडा बितरण गर्ने अभियान सुरू गर्दैछ। यो अभियान सुखिपुरबाट सुरू हुदैछ।

प्रकाशित मिति: : 2020-12-13 15:06:00

प्रतिकृया दिनुहोस्