सरकारलाई बढ्दै सडकको दबाब

किशोर दहाल

काठमाडौं

प्रतिपक्षको रुपमा नेपाली कांग्रेसले सशक्त भूमिका निर्वाह गर्न नसकेको भनेर आलोचना खेप्दै आएको थियो। जसले गर्दा शक्तिको हिसाबले कमजोर र प्रवृत्तिको हिसाबले सत्ताकै सहयोगीको छवि बन्यो। प्रधानमन्त्री केपी शर्मा ओलीका लागि कतिपय सन्दर्भमा आफ्ना पार्टीका सहयोद्धाभन्दा कांग्रेस सभापति शेरबहादुर देउवा बढी हितैषी सावित भएका थिए। अप्ठ्यारो पर्दा सहयोग माग्ने र दिने सम्बन्ध चलिरहेको थियो।

यसरी ३४ महिनासम्म प्रमुख प्रतिपक्षी दल हुनुको कुनै बोध गराउन नसकेको कांग्रेसले एक्कासी सडकमै उत्रिने निर्णय गर्‍यो। जसअनुसार मंसिर २९ गते उसले ७७ वटै जिल्लामा सरकार विरुद्ध सडक प्रदर्शन पनि गरिसकेको छ। कोरोनाकै कारण पार्टीका अन्य कैयौं कार्यक्रम स्थगित भएका र महाधिवेशन समेत अनिश्चित भएको अप्ठ्यारो समयमा समेत उसले सडक रोज्यो।

'अहिले सरकार पनि दिन प्रतिदिन बदनाम हुँदै गएको छ। सत्तारुढ पार्टीभित्र विवाद उत्कर्षमा पुगेको छ। राजावादीहरुले व्यवस्था र संविधानकै विरुद्धमा सडकमा उत्रिएपछि र आफ्ना वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा सरकारी दमन र दूर्व्यवहार गरिएपछि कांग्रेस सडकमा जाने निष्कर्षमा पुगेको देखिन्छ। त्यसैले अहिले ऊ बाध्यात्मक र परिस्थितिजन्य राजनीतिक विकासक्रमका कारणले सडकमा गएको हो', राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले भन्छन्।

सम्बन्ध विच्छेदको सुरुवात
प्रधानमन्त्री ओलीले सत्ताभोगको झन्डै ६० प्रतिशत समय व्यतीत गरिसकेका छन्। यसबीचमा उनले प्रमुख प्रतिपक्षी दल कांग्रेसबाट कुनै दबाब महसुस गर्नुपरेन। उसले दबाबका लागि न सदनको मोर्चा उपयोग गर्‍यो, न सडकमै उत्रियो। बरु कतिपय नियुक्तिहरुमा आफ्नो भागबण्डा निश्चित गर्न कांग्रेस सभापति देउवा बालुवाटार धाइरहे। यसलाई कांग्रेस स्वयंले समेत स्वीकारेको छ।

‘प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउँदै आयो, तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गर्‍यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लग्यो’, कांग्रेसको प्रदर्शनको अघिल्लो दिन सभापति देउवाले निकालेको अपिलमा भनिएको थियो।

प्रकाशित मिति: : 2020-12-15 14:51:00

प्रतिकृया दिनुहोस्