तस्करको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै उरै भञ्याङ, करोडौँको जडीबुटी तिब्बत तस्करी

शिलापत्र

काठमाडाैं

छिमेकी राष्ट्र चीनको तिब्बतसँग जोडिएको उरै भञ्याङबाट तस्करले अमूल्य जडीबुटीर वन्यजन्तुका अंग तस्करी गर्नेक्रम बढेको छ । यो नाका भएर यार्सागुम्बा, वनलसुन, कटुकी, सतुवा, पाँचऔँले, रातो च्याउलगायत बाघका छाला, कस्तुरी र वन्यजन्तुका अंग तस्करी तस्करी हुनेक्रम बढेको हाे ।

साइपाल गाँउपालिकाको धुलीमा सीमा प्रहरी चौकी छ । चौकी भए पनि नाकासम्म पुग्ने प्रशस्त बाटो भएका कारण उरैबाट बहुमूल्य जडिबुटी, बाघ तथा अन्य वन्यजन्तुका अखेटोपहार, रक्त चन्दन र चरेसलगायतका प्रतिबन्धित सामग्रीको सजिल्यै तस्करी भइरहेको स्थानीय बताउँछन् । चीनले उरै नाका नजिकैसम्म सडक पुर्‍याएपछि तस्करलाई सामान कटाउन अहिले सहज भएको छ ।

नेपालबाट भेडाबाख्रा, चौँरी र भरियाकाे माध्यमबाट उरै नाकासम्म तस्करले सामान पुर्‍याउँछन् । बझाङ र हुम्लाका अधिकांश व्यक्ति व्यापार र मजदुरीका लागि तिब्बतको ताक्लाकोटमा बस्दै आएका छन् । ताक्लाकोटमा रहेका नेपालीले चीनका व्यापारीसँग सेटिङ मिलाउने र नेपालका तस्करले उरै नाका हुँदै जडीबुटीसीमा क्षेत्रसम्म पुर्‍याउने गरेका एक जना व्यापारीले बताए ।

बझाङ प्रहरीको एक टोलीले २०६८ चैतमा चीनको तिब्बततर्फ लैजाँदै गरेको अवस्थामा ३५ क्विन्टल रक्त चन्दनसहित ८६ जना भरियालाई पक्राउ गरेको थियो । त्यही वर्षको असोजमा १ सय ५० भन्दा बढी भरिया लगाएर ५० क्विन्टलभन्दा बढी रक्तचन्दन तिब्बत पुर्‍याएको घटना सार्वजनिक पनि भएको थियो । त्यसयता यो नाकाबाट तस्कर पक्राउ परेको घटना सार्वजनिक भएको छैन ।

बझाङका भरियाबाट खुलासा भएको उक्त रक्तचन्दन तस्करी काण्डमा प्रहरी प्रशासनको समेत मिलेमतो रहेको आशंका गरिएको थियो । प्रत्येक वर्ष ठूलो परिमाणमा रक्तचन्दन तिब्बत पुर्‍याउने गरेको भए पनि प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गर्न सकेको छैन ।

प्रकाशित मिति: : 2020-12-17 21:01:00

प्रतिकृया दिनुहोस्