बालुवाटार नगएका बादलकाे पुल्चोकमा आफ्नो पूर्वसमूहसँग भेला

बिएल संवाददाता

काठमाडाै‌ं

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफ्नै पूर्वसमूहको भेला गरेका छन्। 

नेकपा स्रोतका अनुसार पुल्चोकमा उनले आफ्नो पूर्वसमूहको भेला गरेका हुन्। 

बादलसँग तत्कालीन माओवादीबाट छुट्टिएर मोहन वैद्यसँग जाँदाको समूहसँग छलफलमा जुटेका हुन्।

आइतबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सात मन्त्रीले राजीनामा दिएका थिए। 

तर बादलले प्रधानमन्त्री केपी शर्मा ओली क्याबिनेट छोडेका थिएनन्। उनले राजीनामा नदिए प्रधानमन्त्री ओलीको पक्षमा उभिएका थिए। 

सोमबार बिहान प्रधानमन्त्री ओलीले विघटित प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका आफू पक्षीय सांसदहरूलाई बालुवाटारमा बोलाएका थिए। 

बादल उक्त भेलामा जाने अनुमान गरिएको थियो। तर उनी बालुवाटार नगएर सोमबार बिहान मन्त्रीक्वार्टर पुल्चोकमै बसे।

बादलको उक्त समूहसँग अहिले १ दर्जन सांसद र झन्डै तीन दर्जन केन्द्रीय सदस्य रहेको बताइन्छ। 

उक्त समूहमा भएकाहरूमध्ये अहिले बादलसहित पम्फा भुसाल र देव गुरूङ नेकपा स्थायी कमिटी सदस्य छन्। बादल ओलीको पक्षमा रहे पनि उनी निकट गुरुङ, भुसाल लगायतका नेताहरु भने ओलीको विपक्षमा छन्।

 यसका साथै बादलसँग प्रदेश ५ र कर्णालीका संसादहरु पनि साथमा रहेको बताइन्छ। त्यसैले उनी निर्णायक पात्र हुन्।

यदि उनी प्रधानमन्त्री ओलीकै साथमा रहे यी दुई प्रदेशका सरकार बलियो मानिन्छ। 
 

प्रकाशित मिति: : 2020-12-21 11:40:00

प्रतिकृया दिनुहोस्