विमानस्थल घेराबार अन्तिम चरणमा

हुम्लाको सदरमुकाम सिमकोटस्थित विमानस्थलको घेराबार अन्तिम चरणमा पुगेको छ। 

गत मङ्सिरको पहिलो साता हल्का हिमापात भएपनि त्यसपछि हिमपात नहुनु र निर्माण कम्पनी पक्षले सम्झौता अवधिमै कार्यसम्पन्न गर्ने योजना बनाएकाले उक्त काम अन्तिम चरणमा पुगेको हो। 

बिहानदेखि बेलुका अबेरसम्म काम गरिएपछि विमानस्थल घेराबारको काम ८० प्रतिशत पूरा भएको बानियाँ निर्माण सेवा प्रालि हेटाँैडाका प्रतिनिधि दानबहादुर रावलले बताए। 

दश वर्ष अगाडि निर्माण भएको घेराबार जीर्ण र विमानस्थलमा चौपाय विमानस्थलभित्र जान थालेपछि घेराबार थालिएको हो । कूल एक हजार ४१० मिटरमध्ये हालसम्म एक हजार १०० मिटर घेराबार कार्य सम्पन्न भएको छ। 

तातोपानी कुण्डमा नुहाउँने बढे

हिउँद शुरुसँगै जिल्लाका तातोपानी कुण्डमा नुहाउँने बढ्न थालेका छन्। खार्पुनाथ गाउँपालिकाको खार्पुको तातोपानी कुण्डमा यतिबेला तातोपानी नुहाउने र कुण्ड बस्नेको सङ्ख्या बढेको छ। त्यहाँ दैनिक पाँचदेखि दश जनासम्म नुहाउने र तातोपानीको बाफ लिन आउने गरेको स्थानीयवासी सम्झना शाहीले बताए। 
   
 कर्णाली नदी नजिकका तातोपानी कुण्डमा महिला, वृद्धवृद्धा र बाथरोगका बिरामी आउने गरेका छन्। बाथ तथा छाला सम्बन्धी रोगी तातोपानी कुण्डमा नुहाउँदा उपचार हुने मान्याताले टाढाटाढा गाउँबाट पनि मानिस आउने गरेको शाहीले बताए। खार्पुमा नुहाउन तथा बाफ लिन राहदेव फुचा, दुर्पा, ठेहे ताक्लालगायतका गाउँबाट आउने गरेको अर्का स्थानीयवासी धीरु भण्डारीले बताए।

 हुम्लामा चखेलीको दर्बी, सर्केगाडको उनापानी, खार्पुनाथको खार्पु र नाम्खाको केर्मीमा तातो पानी कुण्ड छन् । स्थानीयवासी एक सातादेखि दश दिनसम्म तातोपानी कुण्डमा बस्ने गर्दछन्। रासस 


 

प्रकाशित मिति: : 2020-12-22 14:27:00

प्रतिकृया दिनुहोस्