सञ्चालनमा आउँदै हल, फिल्म रिलिजका लागि तयार छैनन् निर्माता

शिलापत्र

काठमाडौँ

 दिप्सन लुइटेल

कोरोना भाइरसको महामारीका कारण विगत ९ महिनादेखि बन्द चलचित्र हल संचालनको तयारी भएको छ । हल संचालकहरुको छाता संगठन चलचित्र संघ नेपालले १० पुसबाट हल संचालन गर्ने स्वघोषणा गरिसकेको छ ।

लामो समयदेखि बन्द रहेका चलचित्र हल संचालन गर्ने विषयमा सरकारले कुनै अग्रसरता देखाएको थिएन । अन्य क्षेत्रहरु संचालनमा आइसक्दा पनि चलचित्र क्षेत्र खोल्ने अनुमति सरकारबाट नपाएपछि हल संचालकहरुले हल खोल्ने स्वघोषणा गरेका हुन् ।

उच्च सुरक्षा सावधानी अपनाएर हल संचालन गरिने चलचित्र संघका अध्यक्ष मधुसुधन प्रधानले बताए । उनले भने, 'हामीले डब्लुएचओले तय गरेको सुरक्षा सावधानी अपनाएर नै हल संचालन गर्नेछौँ ।'

अध्यक्ष प्रधानका अनुसार चलचित्र हलमा प्रवेश गर्नुपूर्व दर्शकले अनिवार्य मास्क लगाउनु पर्ने हुन्छ । सेनिटाइज नगरी हलमा प्रवेश पाइने छैन । त्योसँगै भौतिक दुरी कायम गर्नका लागि एक सिट छोडेर दर्शकलाई राखिने छ ।

'हामीले जोखिम कम गर्नको लागि अनलाइनबाट नै टिकट लिने व्यवस्था पनि गरेका छौँ', अध्यक्ष प्रधानले भने ।

अध्यक्ष प्रधान हल संचालकहरुले नाफाघाटा हेरेर संचालन गर्ने निर्णय नगरेको दाबी गर्छन् । 'हामीले हल संचालनको घोषणा गर्दा नाफा-घाटालाई हेरेका छैनौँ । लामो समयदेखि बन्द रहेको चलचित्र क्षेत्रलाई केही चलायमान बनाउने हेतुले नै हल संचालन गर्ने आँट गरेका हौँ', उनी भन्छन्, 'यो हाम्रो लागि वार्मअप जस्तै हो ।'

प्रकाशित मिति: : 2020-12-22 15:58:00

प्रतिकृया दिनुहोस्