सनसारीमाई मन्दिरको पुनःनिर्माण

सांकेतिक तस्बिर

 मनोज दाहाल  
रङ्गेली नगरपालिका–७ स्थित सनसारीमाई मन्दिर पुनःनिर्माण शुरुआत गरिएको छ। यसका लागि प्रदेश सरकारले आर्थिक सहयोग उपलब्ध  गरेको छ। 

‘मनले चिताएको पुग्ने हुने विश्वास गरिएको ’ मन्दिर पछिल्लो समय जीर्ण बन्दै गएको  थियो। मन्दिर पुनः निर्माण हुने भएपछि भक्तजनले औधी खुशी प्रकट गरेका छन्।

यस क्षेत्रको प्रमुख धार्मिक आकर्षणको केन्द्र रहेको मन्दिर करीब साढे छ बिघा क्षेत्र क्षेत्रफलमा फैलिएकोे छ। मन्दिरमा दर्शनका लागि विराटनगर, धरान, इटहरी, झापालगायत सीमावर्ती भारतीय  विहार र बङ्गालका भक्तजन समेत आउने गर्दछ।  आफ्नो मनोकामना पूरा हुने मुख्य देवीका रुपमा सनसारीमाईलाई लिइन्छ। 

विगतमा मन्दिरको जीर्णोद्धार गर्न कहीँ कतैबाट सहयोग उपलब्ध नभएका अवस्थामा मन्दिरको भेटीबाट नै आवश्यक खर्चको व्यवस्थापन गरी कार्य सञ्चालन गर्ने  गरेको  मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सञ्जीव श्रेष्ठले जानकारी दिए। रङ्गेलीस्थित चिसाङ्ग खोलाको किनारमा अवस्थित मन्दिरको जीर्णोद्धार, सौन्दर्य अभिवृद्धि तथा आकर्षक र आवश्यक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले  आवश्यक बजेट विनियोजन गरेको छ।

प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मन्दिरको आवश्यक मर्मतसम्भार र  सौन्दर्य अभिवृद्धिका लागि रु १७ करोड ९५ लाख बजेट विनियोजन गरेको छ भने सोही बजेटबाट मन्दिरको काम गर्न रु १२ करोडमा ठेक्का लागेको छ।

उक्त ठेक्काअन्तर्गत मन्दिरको कार्यालय भवन, पुजारी आवासगृह, शौचालय, चारैतिरका पर्खाल, भक्तजनलाई पकाउनका लागि ग्यास पाइपसहितको ९६ वटा भान्साकोठा, भजनकीर्तन गृह, खानेपानी ट्याङकी, बगँैचासहितको फाउन्टेन उद्यान र गौशाला निर्माण गर्नुपर्नेछ।

कोरानाका कारण निर्माण कार्य केही समय अवरुद्ध भए पनि अहिले द्रूत गतिमा निर्माण भइरहेको उनले बताए। आगामी तीन वर्षभित्रमा सबै काम सम्पन्न हुुने व्यवस्थापन समितिका सहसचिव ईश्वर पोखरेलले जानकारी दिए। 

भक्तजनले आफ्नो भाकल ( मागेको कुरा) पूरा भएपछि बोकाको बलि दिने गरेका छन्।  उद्योग, पर्यटन तथा तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले धार्मिक पर्यटनका रुपमा मन्दिरलाई विकास गरी स्वदेशी तथा भारतीय पर्यटकलाई आकर्षित गर्ने लक्ष्यले बजेट विनियोजन गरिएको बताए। उनले यसको निर्माणबाट रङ्गेली मात्र होइन मोरङ जिल्लाकै गरिमा बढ्ने विश्वास व्यक्त गरे। 

मन्दिरमा बलि दिएको बोका पूर्वमा बक्रहा नदी र पश्चिममा चिसाङ्ग नदीको क्षेत्रफलभित्र उपयोग गरिसक्नुपर्ने पौराणिक मान्यता रहिआएको छ।

इच्छाएको कुरा पूरा भएपछि  एउटा बोकाको बलि दिन एकजना भक्तजनका साथमा करीब १५ जना परिवारका सदस्यहरु आउने गर्दछन्। कोराना महामारीले सामाजिक दूरी पनि कायम दिनुपर्ने कारण मन्दिरमा बलि दिने कार्य बन्द थियो। अहिले गत मङ्सिरको पहिलो हप्तादेखि स्थानीय प्रशासन र प्रहरीको सहकार्यमा स्वास्थ्य सुरक्षा अपनाई दैनिक बलि दिने गरिएको छ। बलि दिन चाहने भक्तजन एवं श्रद्धालुले अग्रिम नाम दर्ता गराउनुपर्ने व्यवस्था मिलाइएको छ।  

मन्दिर कहिले स्थापना भएको भन्ने स्पष्ट मिति थाहा छैन। राणाकालमा रङ्गेली मोरङ जिल्लाको सदरमुकाम भएको  समयमा भन्सार गस्ती र सरकारी कार्यालयले पूजा यही मन्दिरमा गर्ने गरेको स्थानीय बूढापाकाको भनाइ छ।

विपी कोइरालाको आत्मवृत्तान्तमा विराटनगर– रङ्गेली–झापा हुलाकी मार्ग रहेको बेला मोरङको बडाहाकिम रहेका पिताजी कृष्णप्रसाद कोइराला सोही बाटो घोडामा चढेर जानेआउने क्रममा मन्दिरको दर्शन गर्ने गरेको उल्लेख  छ। 
    
देवीसँग आफूले मागेको इच्छा पूरा हुने गरेकाले मन्दिरको दर्शनका लागि जाने गरेको  विराटनगर–११ की  विजया खतिवडाले जानकारी दिए। उनले देवीको पूजा तथा दर्शन गर्दा आफ्नो कष्ट पनि निवारण भएको बताए। 
    
हिन्दु धर्मावलम्बीले आफ्नो मनोकामना पूरा होस् भनी आफ्ना इष्टभित्र, नातागोतामार्फत अथवा  मन्दिरमा टेलिफोन गरी रकम पठाई बलि दिने गरेका छन्। सय वर्षभन्दा लामो इतिहास बोकेको अनुमान गरिएको मन्दिरको आफ्नै  धार्मिक महत्व रहेको छ।  विगत १० वर्षदेखि दर्शन गर्न आउने भक्तजनको सङ्ख्या उल्लेखनीय रुपमा बढेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले बताउछन्। समयको परिवर्तन, विकास तथा प्रविधिले गर्दा भक्तजनले कुनै पनि समस्या अहिले झेल्नु नपरेको उनको भनाइ छ।

मन्दिरमा सबैभन्दा बढी शनिबार र मङ्गलबार  पूजा गर्न र भाकलअनुुसार बलि चढाउने गर्दछन्। प्रदेश सरकारले प्रदेश शक्तिपीठका रुपमा मान्यता दिएपछि  मन्दिरको महत्व झन् वृद्धि भएको छ।  

गत वर्षको दशैँमा प्रदेशस्तरीय  फूलपाती बढाइँ गर्न थालेपछि मन्दिरको चर्चा छिमेकी प्रदेशमा हुन थालेको छ। यस वर्ष रङ्गेली नगरपालिकाले स्वास्थ्य सुरक्षा एवं भौतिक दूरी कायम गरी दशैँमा फूलपाती बढाइँ गरी पूजा सम्पन्न गरेको थियो।

रङ्गेलीले मन्दिरको साझेदारीमा पटकपटक गरी रु ४४ लाखको सहयोगको लागतमा  चिसाङ्ग खोलाको बाढीबाट बचाउनका लागि पक्की बाँध निर्माण गरेको थियो। साथै बर्षात् एवं जाडो मौसममा भक्तजनको विश्रामका लागि २०  सेड निर्माण गरिएको छ।

रङ्गेली नगर प्रमुख दिलीप अग्रवालले मन्दिरको महत्व परापूर्वकालदेखि रहेको हुँदा यसको पुनः निर्माणमा प्रदेश सरकारको सहयोग सराहनीय रहेको बताउछन्। 

    
नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य राजेन्द्र राउतले यस क्षेत्रका शक्तिपीठका रुपमा यस मन्दिरमा दर्शन गर्न आउने भक्तजनको आवश्यक सुविधामा सबैको सहयोग रहनुपर्नेमा जोड दिन्छन्। 

रङ्गेली निवासी नेपाल पत्रकार महासङ्घ मोरङका उपाध्यक्ष कुमोद अधिकारीले यस मन्दिरमा चिताएको कुरा पूरा हुनेले यसको महत्व स्वदेश तथा विदेशका हिन्दू धर्मावलम्बीमा अत्यधिक रहेको बताउछन्। 

मन्दिरको दैनिक पूजापाठ एवं आवश्यक व्यवस्थापनका लागि पाँचजना कार्यरत रहेका छन् भने उनीलाई भक्तजनबाट चढाइएको भेटी एवं दानबाट पारिश्रमिक भुक्तानी गर्ने गरिएको छ।
 
मन्दिरले आफ्ना सम्पूर्ण आम्दानी बैंकमा जम्मा गर्ने गरेको र सबै कारोबार यसैमार्फत गर्ने गरेकाले सम्पूर्ण आर्थिक कारोबार पारदर्शी रहेको पाइएको छ।  विराटनगरबाट २२ किलोमिटर पूर्व झापा जाने बाटोमा मन्दिर रहेको छ। रासस  

प्रकाशित मिति: : 2020-12-22 16:32:00

प्रतिकृया दिनुहोस्